७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएनएको कार्यकाल ६ महिना थपियो, नोभेम्वरमा निर्वाचन गर्ने तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ। गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जनाए।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी नोभेम्वर ३० तारिखभित्र गर्ने निर्णय गरेको छ।

यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परे पछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो।

मन्त्रालयको पत्रपछि यही अक्टोवर २३ देखि २५ तारिखका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्वसम्मेलन स्थगित भएको थियो।

बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिब एक सय जना भन्दा बढी सदस्यहरुले आआफ्ना भनाईहरु राखेका थिए।

अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र पूर्व उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

संघका महासचिव डा. हेम राज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक भैसकेका छन्।

संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भैसकेका छन्। संघको विधान अनुरुप यसअघिनै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजकसहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन्।

प्रकाशित: ३१ आश्विन २०७८ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App