नेपालको ऐतिहासिक पहिलो जलविद्युत उत्पादनगृह फर्पिङको पानीपोखरीमा संयुक्त बृहत् कविता गाेष्ठी भएको छ। १९६८ सालमा राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको चन्द्रज्योति नाम दिइएको विद्युत दरबारमा जोडिन्थ्यो। यसलाई नेपालको पहिलो जलविद्युतगृह मानिन्छ।
सुसेली साहित्यिक प्रतिष्ठान, शब्दाङकुर, वर्तमान कविता समूह र शब्दपथले आयोजना गरेको कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका कविहरूको उपस्थिति थियो। अलिअलि घाम, बतासमा प्रकृतिको रमणीय स्पर्शसहित कविता सुन्ने सुनाउने मन्त्रमुग्ध भएका थिए।
बिनासभाध्यक्ष र बिनाप्रमुख अतिथि भएकाे कार्यक्रममा सबै कविलाई प्रमुख भनी सम्बोधन गरिएको थियो। कविहरू कृष्ण कँडेल, विश्व सिग्देल, चन्द्रबहादुर लामा, कृष्णकुमार श्रेष्ठ, गोविन्दबहादुर खड्का, चन्द्रलाल तामाङ, विनोद खत्री, दीपक लोहनी, धन्वन्तरी मिश्र, नवीन्द्रराज पाण्डे, नारायण तिवारी, प्रमोद प्रधान, बालकृष्ण श्रेष्ठ पासा, मुरारि सिग्देल, रजनी खत्री, रमेश बलामी, राजेन्द्र शलभ, रामगोपाल आशुतोष, अच्युत घिमिरे, राजाराम राउत, विधान आचार्य, विश्वनाथ वाग्ले, विश्वविमोहन श्रेष्ठ, विष्णुविभु घिमिरे, शेखर अर्याल, सञ्जय सुमन, सविता केसी बोहरा, सरिता बलामी, सुभाषचन्द्र पौडेल भीमफेदीया, सुशान्त केसी, स्नेही शिव, रामराजा केसी, धीरकुमार श्रेष्ठ, रमी प्रिया, डा शेखरकुमार श्रेष्ठ, भोगेन्द्र लिङ्देन र किशोर पहाडीले रचना वाचेका थिए।
आयोजकले पर्यटन विषयमा वाचन गरिएका कविताहरू शब्दाङकुरमा अंग्रेजीमा अनुवाद गरी प्रकाशन गरिने आयोजकले जानकारी दिएकाे छ।
आयोजक संस्था शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले "आज मेरो एउटा सपना पूरा भयो" भन्दै "यो ऐतिहासिक स्थानमा स्रष्टा पदयात्रा सहित रचना वाचन गर्ने सपना केही वर्ष पहिलादेखि देखेको थिएँ। हाम्रो उमेरका मित्रहरू हिंड्न गाह्रो मान्ने भएकाले सवारी साधनमै आएर भए पनि चार संस्था मिलेर कार्यक्रम भएकाेमा खुशी लागेको छ" भने।
आयोजक समूहका किशोर पहाडी, रमी प्रिया, राजाराम केसी र राजेन्द्र लिङ्देनले कविहरूलाई मायाको चिनो प्रदान गरिएकाे थियाे।
सुसेली साहित्यिक प्रतिष्ठानका सल्लाहकार डा. शेखरकुमार श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा कार्यक्रमपछि कविहरूलाई स्थानीयले नेवारी समेबजी खाजाले स्वागत गरेका थिए।
कविहरूले ऐतिहासिक जलविद्युत गृह, स्मारकस्थल, राणाहरूको तत्कालीन विश्रामगृहको अवलोकन पनि गरेका थिए।
प्रकाशित: २५ माघ २०८२ ११:१८ आइतबार





