कवि गौरी तमुको ‘सैँप्रोल’ कवितासंग्रह लाेकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा आयाेजित कार्यक्रममा प्राज्ञ राजन मुकारुङ, सम्पादक निबन्धकार दीपक सापकोटा, डा. रजनी ढकाल र गौरी तमूलेकाे कृतिकाे लाेकार्पण गरेका हुन्।
लाेकार्पणसँगै ‘सैँप्रोल’ कृतिकाे अन्तर्क्रिया पनि चलाइएको थियो। प्राज्ञ मुकारुङले सैँप्रोल कवितासंग्रह गुरुङ भाषा र संस्कृति चियाउने आँखीझ्याल भएको बताए। आदिवासी–जनजाती सम्बन्धीको पहिचान साहित्य नै मूलधारको साहित्य भएको बताउँदै उनले सैँप्रोलका कविताले सशक्त रूपमा जनजातिकाे आवाज उठाएकाे बताए।
त्यस्तै साहित्यकार दीपक सापकोटाले सैँप्रोल तमू मिथकमा आउने महिला पात्रको नाम मात्र नभई तमू महिलाको अस्तित्व, असन्तुष्टि र आक्रोशको बहस भएकाे बताए।
त्यस्तै समालाेचक डा. रजनी ढकालले गुरुङ संस्कृति र पहिचानमाथि गम्भीर विमर्श गर्ने बताइन्। कवितामा कवि तमूकाे आफ्नाेपन स्पष्ट र सटिक शैली रहेकाे बताइन्।
कवि गौरी तमूले पुस्तकले महिला अस्तित्वसँगै तमूहरूको उत्पत्ति, संस्कृति, मृत्यु संस्कार र तमूसँगै आदिवासी भूगोल–संस्कृतिमाथिको आक्रमणकाे विमर्श गर्ने आशा राखिएको बताइन्।
कवि तमू लामो समयदेखि गुरुङ भाषा र साहित्यका क्षेत्रमा क्रियाशील छिन्। यसअघि उनकाे ‘समैँ दर्बानी’ मुक्तकसंग्रह प्रकाशित छ। इन्डिगो इन्कले तमूका ‘सैँप्रोल’ पुस्तक प्रकाशन गरेको हाे। कृतिकाे मूल्य २७५ रुपैयाँ छ।
प्रकाशित: २५ माघ २०८२ १०:३८ आइतबार





