बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध चेक बाउन्स सम्बन्धी मुद्दामा गैर–जमानती वारेन्ट जारी भएको छ। उक्त मुद्दा सन् २०१७ मा भएको एक कार्यक्रम विवादसँग सम्बन्धित मुद्दामा मुरादाबाद अदालतले यस्तो आदेश दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
कार्यक्रम आयोजक पवन वर्माका अनुसार १६ नोभेम्बर २०१७ मा मुरादाबादमा आयोजना गरिएको एक विवाह समारोहमा प्रस्तुति दिन अमीषालाई बोलाइएको थियो। उक्त कार्यक्रमका लागि १४ लाख ५० हजार भारु रुपैयाँ अग्रीम भुक्तानी गरिएको दाबी गरिएको छ। तर, उनी कार्यक्रममा उपस्थित नभएको आरोप लगाइएको छ।
आयोजकले पछि रकम फिर्ता गर्ने सहमति भएको र १० लाख रुपैयाँ नगद फिर्ता गरिएको तर बाँकी ४ लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएको बताएका छन्। सोही विषयमा कानुनी प्रक्रिया अघि बढाइएको हो।
अदालतले पटक–पटक समन जारी गर्दा पनि अभिनेत्री उपस्थित नभएपछि अतिरिक्त सिभिल जज (जुनियर डिभिजन) अदालतले गैर–जमानती वारन्ट जारी गरेको बताइएको छ। यस मुद्दाको सुनुवाइ अगामी २७ मार्चमा हुने भएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै पटेलले सामाजिक सञ्जालमार्फत यो पुरानो मुद्दा भएको र पहिले नै समझौता भइसकेको बताएकी छिन्। उनले सम्बन्धित पक्षले पूर्ण रकम बुझिसकेको उल्लेख गर्दै झुटा आरोप लगाइएको र आफू कानुनी कारबाही गर्ने बताएकी छिन्।
प्रकाशित: ५ फाल्गुन २०८२ १६:०६ मंगलबार




