५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

क्यानडामा हिमालयन मेला

टोरन्टो - क्यानाडाको टोरन्टोमा हुने ‘हिमालयन मेला’ – ०१४ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेजले जनाएको छ।

 

उत्तर अमेरिकाकै ठुलो नेपाली साँस्कृतिक मेला दावी गरिएको यो मेला यहि अगष्ट १७ तारिख टोरन्टोस्थित नाथन फिलिप स्क्वाएर डाउनटाउनमा हुदैछ। हरेक साल हुने यो मेलालाई एनआरएन- क्यानडा र नेपाली दुतावास ओटावाले समेत प्रत्यक्ष रुपमा सघाउदै आएका छन्।

उसो त यहाँका स्थानीय सहपाठी संस्थाहरुले पनि सघाउदै आएका छन्। कार्यक्रमको प्रत्यक्ष दायित्वमा पर्ने आर्थिक भारलाई यहाँका स्थानीय व्यवसायीहरुले सधैं काँध थाप्ने गरेका छन्। यसपटकको बोझिलो भारी बोकेर आर्थिक सहयोग गर्नेमा दुइवटा पुराना व्यवसायिक कम्पनी अग्रस्थानमा छन्।

संस्थाका कोषाध्यक्ष मान पौडेलका अनुसार, ‘हिमालयन मेला’ लाई दत्त चित्त भएर आर्थिक सहयोग गर्नेको संख्या अहिले सम्म १८ नाघेको छ। उनले भने- ‘यो क्रम जारी छ’। क्यानाडामा नेपाली डायस्पोराको सबै भन्दा महत्वपुर्ण र बृहत फेस्टिभल मानिने हिमालयन मेलाको यो नवौं संस्करण हो।

नृत्य र गायन गरि २० भन्दा बढी सांगीतिक प्रस्तुति रहेको संस्थाका सभापति एवं संचार संयोजक अन्जनी भट्टराईले बताए। ‘यो मेलाको सांगीतिक ‘हिरो’ सन्जिब प्रधान र सरिश्मा अमात्य हुन्’, सभापति भट्टराईले भने- ‘ नेपालको साँस्कृतिक झल्कने गरि कार्यक्रमको डिजाइन भएको छ’।

नेपालको भौगोलिक संस्कृति अनुसारको भेषभुषामा स्थानीय युवायुवतीलाई र्याम्पमा उतार्ने योजना सुनाउदै उनले थपे- ‘मेलाको अर्को आकर्षण ‘कुमारी’ र नेपाल झल्कने ट्रक हुनेछ’। क्यानडाको ब्राम्पटन निवासी नरबहादुर टन्डन गतसाल देखि नेपाल झल्कने ट्रक लिएर स्वदेशको पर्यटन प्रवर्धन गर्दै उत्तर अमेरिका डुलाउदै आएका छन्। मेलामा विभिन्न व्यवसायिक स्टल राखिने भएका छन् जहाँ नेपाली परिकारको स्वाद लिन सकिन्छ। हजारौंको संख्यामा सहभागी उतार्ने धेय राखी संस्थाका पदाधिकारीहरु अहिले जनसम्पर्कलाई तिब्रता दिएका छन्। आयोजक संस्थाका अध्यक्ष गोपाल भण्डारीले ‘मेला’लाई टोरन्टोमा नेपालीको शानका रुपमा देखाउन लागिपरेको बताए। उनले ग्रेटर टोरन्टोमा बसोबास गर्ने नेपाली, नेपाली भाषी भुटानी, तिब्बतियन, नेपालसंग प्रत्यक्ष/ अप्रत्यक्ष सम्बन्ध राख्ने गैर नेपाली सबैलाई यो साँस्कृतिक सम्मेलनमा सहभागी जनाउन आग्रह समेत गरेका छन्।

 

प्रकाशित: २० श्रावण २०७१ ००:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App