सरकारी तथ्यांकमा १ सय ४२ जनाको गन्ति गरिएको छैन। स्थानीय समयअनुसार मंगलबार राति भएको दुर्घटनाका कारण प्रधानमन्त्री रिसेप ताइप एर्डोगानको आगामी राष्ट्रपति बन्ने आकांक्षामा धक्का लाग्ने सम्भावना छ। उनका एक जना सल्लाहकार युसुफ यर्केलमाथि दुर्घटनापछि भएको विरोधमा प्रदर्शनकारीलाई लात्ति हानेको आरोप लागेको छ। सरकारले बिहीबारदेखि तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको थियो।
सोमास्थित दुर्घटनाग्रस्त कोइला खानीबाट बुधबार बिहानयता कुनै पनि कामदारलाई जीवितै उद्धार गर्न सकिएको छैन। पश्चिमी सहर सोमास्थित एउटा कोइला खानीमा मंगलबार राति भएको विस्फोटपछि आगो लागेको थियो। खानीमा विद्युत आपूर्ति र बाहिर निस्कने सिँढी बन्द भएका थिए। खानीभित्र थुनिएपछि बिषालु ग्यास कार्बन मोनोअक्साइडका कारण कामदारको मृत्यु भएको थियो। दुर्घटनाका बेला खानीमा ७ सय ८७ मजदुर कार्यरत रहेका थिए। ३ सय ८३ जना मजदुरलाई भने जीवितै उद्धार गरिएको थियो।
ऊर्जामन्त्री तानेर यिल्डिजले खानीभित्र लागेको आगो नियन्त्रणमा आउन लागेकाले उद्धारकार्य तीव्र हुने बिहीबार बताए। दुर्घटनाग्रस्त खानी क्षेत्रको अवलोकन गर्न बिहीबार गएका प्रधानमन्त्री एर्डोगानले आक्रोसित सर्वसाधारणको कडा विरोधका कारण सुपरमार्केटमा शरण लिनु परेको थियो। सर्वसाधारणले उनलाई हत्यारा र फटाहा भन्दै प्रहरीसँग झडप गरेका थिए।
एर्डोगानले१९ औं शताब्दिमा बेलायतमा भएका खानी दुर्घटनाको उदाहरण दिँदै सोमाको खानी दुर्घटना सामान्य भएको भनेपछि सर्वसाधारण उनीप्रति आक्रोसित भएका थिए। दुर्घटनाविरुद्ध इस्तान्बुल, अंकारालगायत विभिन्न सहरमा बुधबार विरोध प्रदर्शन गरेका थिए।
सरकारविरोधी प्रदर्शन भड्किँदै
सरकारी अधिकारीले खानीमा फसेका मजदुरको उद्धारमा लापरवाही गरेकोे भन्दै त्यहाँका सर्वसाधारणले प्रदर्शन सुरु गरेका छन्।
कोइला खानी दुर्घटनामा २ सय ८२ जनाको ज्यान गइसकेेको र सयभन्दा बढी भित्र फसेका छन्। फसेका कामदारको समयमै उद्धार गरी बाहिर निकाल्न नसकेको भन्दै सर्वसाधारणले विरोध थालेका हुन्। उनीहरूले बिहीबार सडकमा सरकारविरोधी नाराबाजी गरेका थिए।
बिहीबार दिउँसो २० हजारभन्दा बढी प्रदर्शनकारीले सरकारी भवनमा आगजनी गर्ने प्रयास गरेका थिए भने कतिपयले सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। प्रहरीले टियर ग्यास र पानीको फोहरा हानेको थियो।
टर्की वर्कर्स युनियन कन्फेडेरसन (केइएसके)ले खानी दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा बिहीबार श्रद्धाञ्जलि सभाका साथै एकदिने हड्ताल गरेको थियो।
सरकारी अधिकारीले खानीमा फसेका मजदुर अब जीवितै भेट्न निकै गाह्रो हुने प्रतिक्रिया दिएपछि विरोध प्रदर्शन चर्किएको हो।
प्रकाशित: १ जेष्ठ २०७१ २१:५९ बिहीबार





