नेपाली दूतावास फ्रान्सले हरेक वर्ष स्पेनमा नेपाल प्रमोशन साँझ कार्यक्रमको आयोजना गर्दै आएको छ। राजदूत श्रेष्ठले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवेद्धनमा समेत टेवा पुग्ने बताए। गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीले आरोहीहरुलाई निमन्त्रणा पठाइएको जानकारी दिए। हिमशिखर आरोहण गर्ने संख्या धेरै छ, सबैलाई सम्मान गर्न सम्भव नभए पनि सर्वोच्च शिखर सगरमाथाको आरोहीलाई पहिलो पटक सम्मान गरिन लागिएको गिरीले बताए।
कार्यक्रममा पराष्ट्रमन्त्री महेन्द्र पाण्डे, पराष्ट्र सचिव शंकरदास बैरागीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतलाई आमन्त्रण गरिएको गिरीले जानकारी दिए। कार्यक्रममा नेपालका हिमशिखर आरोही करिब तीन सयजना आमन्त्रण गरिएको छ।
हालसम्म सयजना भन्दा बढी स्पेनिसहरुले सगरमाथाको आरोहण गरिसकेको स्पेनका नेपाली कन्सुलर लुइस बेलबिसले जानकारी दिए। कार्यक्रममा स्पेन सरकारको तर्फबाट साउथ एसिया मामिला निर्देशक रामेन मरेनो, स्थानीय अध्यागमन मन्त्री चावियर बोस सहभागी हुने आयोजकले बताएका छन्।
गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकको पूर्वसन्धामा आयोजना हुन लागेको सो कार्यक्रमका एनआरएनएका केन्द्रीय नेता तथा युरोपका विभिन्न देशबाट आएका गैरआवासीय नेपाली संघका प्रतिनिधिसमेतले कार्यक्रममा भाग लिने भएका छन्। गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठक सोही स्थानमा जुन ७ तारिख शनिबारदेखि सुरु हुँदैछ।
प्रकाशित: ३० वैशाख २०७१ ०४:४२ मंगलबार




