५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

थाइल्यान्डमा सत्तारुढ दलको प्रदर्शन

बैंकक, (एजेन्सी)– थाइल्यान्डमा निवर्तमान प्रधानमन्त्री यिङलक सिनावात्रा समर्थकले शनिबार प्रदर्शन सुरु गरेपछि त्यहाँको राजनीतिक अन्योल अझै गहिरिने अनुमान छ।यिङलकलाई अख्तियार दुरुपयोगको आरोपमा थाइ अदालतले पदमुक्त गरेपछि उनको दल समर्थक विरोध प्रदर्शनमा उत्रेका हुन्। विपक्षी दलले सरकारविरोधी आन्दोलन गरिरहेकै बेला यिङलक पदमुक्त भएपछि थाइल्यान्डमा शनिबार प्रधानमन्त्रीको दल समर्थक र कार्यकर्ताले प्रदर्शन गरेका हुन्। 
प्रदर्शनका क्रममा उनीहरूले यिङलकमाथि राजनीतिक षड्यन्त्र गरिएको दाबी गरेका थिए। उनीहरुले प्रधानमन्त्रीका रुपमा यिङलकले कुनै पनि गल्ति नगरेको बताएका थिए। 
राजधानी बैंककमा यिङलकको दल समर्थकहरू अदालतको आदेशविरुद्ध प्रदर्शनका लागि सडकमा उत्रिएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 
त्यहाँ ६ महिनायता सरकारको विरोधमा सडक प्रदर्शन गर्दै आएका विपक्षीले शुक्रबार निर्णायक प्रदर्शन भन्दै विरोध प्रदर्शनका नयाँ कार्यक्रम घोषणा गरेका थिए। बिहानैदेखि राजधानी बैंककका सडकमा ओर्लिएका हजारौं प्रदर्शनकारीले राजधानी बैंककमा रहेको राष्ट्रिय टेलिभिजन प्रशारण पनि कब्जा गर्ने घोषणा गरेका छन्। शुक्रबार विपक्षी दलका कार्यकर्ताहरुले राजधानीमा प्रहरी चौकी घेराउ गर्नुका साथै कतिपय सरकारी कार्यालयमा धर्ना दिएर काममा अवरोध उत्पन्न गरेका थिए।
प्रधानमन्त्री यिङलकलाई अदालतले पदमुक्त गरेपछिको चौथौ दिन शनिबार थाइल्यान्डको राजधानीमा सरकार समर्थित विरोध प्रदर्शन भएको हो। प्रधानमन्त्री यिङलकलाई त्यहाँको अदालतले बुधबार अख्तियार दुरूपयोगको अभियोगमा दोषी ठहर गर्दै पद छोड्न आदेश दिएको थियो। उनीसहित अरु नौ जना मन्त्री पनि पदमुक्त भएको फैसला अदालतले सुनाएको थियो।
प्रधानमनन्त्रीको समर्थनमा रातो पोशाक लगाएका प्रदर्शनकारीहरु अकस्मात सडकमा उत्रेपछि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ। रातो पोशाकधारी प्रदर्शनका एक जना नेता क्वान्ची पिरपानाले भने, ‘हामी जे गर्न पनि तयार छौँ। अब संघर्ष गर्ने पालो हाम्रो हो र हामी प्रजातन्त्रका लागि लडिरहने छौँ।' उनका अनुसार थाइल्यान्डमा प्रजातन्त्र संकटमा परेकोले प्रजातन्त्रको संरक्षणका लागि उनीहरु शान्तिपूर्ण संघर्ष गर्नेछन्। उनले हिंसा कहिल्यै नरोज्ने, शान्तिपूर्ण रुपमा आफ्नो शक्ति प्रदर्शन गर्ने र प्रजातन्त्र बचाउन संघर्ष गर्ने बताए। 
बुधबारका फैसलाले प्रधानमन्त्री र उहाँको मन्त्रिपरिषदका नौजना मन्त्रीलाई बर्खास्त गरेपछि थाइल्यान्डमा अबको प्रधानमन्त्री को बन्ने भन्ने बारेमा संवैधानिक सङ्कट आएको छ। प्रधानमन्त्री सिनावात्रालाई पदबाट हट्न अदालतले दिएको यो आदेशको घटनाले त्यहाँ विकसित राजनीतिक परिस्थितलाई थप तरल बनाइदिएको विश्लेषकहरूको भनाई छ। 
विपक्षीहरुले शुक्रबार बैंककमा आन्दोलनमार्फत सडकबाटै अर्को समानान्तर सरकार गठन गरिने चेतावनी दिएका थिए। उनीहरुले थाइल्यान्डमा समानान्तर सरकार गठन गर्ने चेतावानी दिएको भोलिपल्टै सत्तारुढ दलका कार्यकर्ताले भने यही सरकारकाले निरन्तरता पाउनुपर्ने माग गरेका हुन्। 
थाइल्यान्डमा राजनीतिक सङ्कट गहिरिँदै जाँदा अब अर्को आमनिर्वाचन गर्ने वा कसरी द्वन्द्वको समाधान गर्ने भनेर विभिन्न विकल्पहरुमा छलफल भइरहेको बताइन्छ। यही सरकारको नेतृत्वमा विपक्षीहरु निर्वाचनमा नजाने भएकोले निर्वाचित सरकार गठन गरी नयाँ निर्वाचनमा जान पनि सकिने कतिपयको विश्लेषण छ। तर यो प्रस्तावमा पनि सत्तारुढ दल सहमत हुने देखिँदैन।

प्रकाशित: २७ वैशाख २०७१ २०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App