उहाँहरूले सबै उग्र गतिविधिहरू २४ घण्टाभित्रै रोक्न सहमति व्यक्त गर्नुभयो। दुई प्रतिद्वन्द्वीले दक्षिणी सुडानका जनताका लागि सङ्क्रमणकालीन सरकार सबैभन्दा राम्रो अवसर भएकोमा सहमति व्यक्त गर्नुभयो। उहाँहरूले नयाँ निर्वाचनको बचन दिनुभएको जानकारी पूर्वी अफ्रिकी क्षेत्रीय समूह आईजीएडीका प्रमुख मध्यस्थकर्ता सेयुम मेस्पि्कनले बताउनुभयो।
उहाँले सहयोग आवश्यक पर्ने पचास लाख जनतालाई सहयोग पुर्याउन दिन उहाँहरूले मानवीय मार्ग खोलिदिने र संयुक्त राष्ट्र सङ्घलाई सहयोग गर्ने बचन दिएको पनि उल्लेख गर्नुभयो। दुबै पक्षका सैनिक अधिकारीहरूले सम्झौता पालना गर्न अग्रपङ्क्तिमा रहेका समूह निकै सक्रिय रहेको बताएका छन्।
शान्ति सम्झौताका लागि वासिङ्टनका साथै विश्वका नेताहरूले कडा दबाब दिएका थिए। उनीहरूले वरिष्ठ सैनिक कमान्डरहरूमाथि प्रतिबन्ध लगाएका थिए। यसबीच दुबै पक्षले युद्ध अपराध गरेको समाचार आउन थालेका थिए र यसले शृङ्खलावद्ध जातीय हत्या गराउनसक्ने अवस्था सिर्जना भएको थियो।
युद्धका कारण दसौँ हजार व्यक्तिको मृत्यु भएको देखिएको छ। यस अवधिमा १२ लाख मानिस आफ्नो घर छोड्न वाध्य भएका छन्। सहयोग संस्थाहरूले दक्षिण सुडान हाल सन् १९८० को दसकपछिको सबैभन्दा नराम्रो भोकमरीमा पर्ने चेतावनी दिएका छन्।
महिनाको आरम्भमा अमेरिकी विदेशमन्त्री जोन केरीले शान्ति प्रक्रियामा दबाब दिन दक्षिणी सुडानको भ्रमण गर्दा सुडानमा तत्कालै युद्ध रोक्ने सम्झौता तथा सङ्क्रमणकालीन सरकार ठूलो उपलब्धि हुने बताउनुभएको थियो।
दक्षिणी सुडानी सेनाका प्रवक्ता फिलिप अगरले युद्धविराम आरम्भ भएको देखिएको बताउनुभयो। युद्धले निकै प्रभावित भएको मुलुकमा हाल क्रियाशील केही सहयोगी संस्थामध्ये एक अक्सफामले महिनौसम्म आशा तोडिएपछि समयमै उपलब्धि भएको धारणा व्यक्त गरेको छ।
प्रकाशित: २७ वैशाख २०७१ २०:१२ शनिबार





