५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

मोदीले रामदेवको आश्रममा पत्नीलाई लुकाएको आरोप

नयाँ दिल्ली, (एजेन्सी)– अंग्रेजी साप्ताहिक म्यागाजिन ‘द वीक'ले भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीले पत्नी जसोदाबेनलाई योगगुरु रामदेवको आश्रममा लुकाएको दाबी गरेको छ।‘द वीक'ले आफ्नो नयाँ अंकमा गुजरातको बडोदरा चुनाव क्षेत्रबाट मनोनयन पत्र दर्ता गरेपछि मोदीले जसोदाबेनलाई झुक्याएर ऋषिकेशस्थित रामदेवको आश्रममा लगेर राखेको दाबी गरेको छ। ‘द फरगटन हाफ' अर्थात् ‘बिर्सिएकी अर्धांगिनी' शिर्षकमा म्यागाजिनले मोदीको विवाहबारे विशेष समाचार छापेको छ। चुनाव आयोगमा दाखिल गरेको मनोनयन पत्रमा मोदीले जसोदाबेनसँग विवाह गरेको स्वीकारेका थिए। 
म्यागाजिनले विश्व हिन्दु परिषद् सुत्र उल्लेख गर्दै जसोदाबेनलाई आफ्नी पत्नी स्वीकारेको केही समयपछि नै तीर्थयात्रीका जस्ता पहिरनमा मोदीका कार्यकर्ता र सुरक्षाकर्मी तीन वटा सवारीसाधनमा जसोदाबेनको घर पुगेका थिए। उनीहरूले जसोदाबेनको चार धाम गर्ने पुरानो धोको पूरा हुन लागेको भन्दै अहमदाबाद लिएर गएको उल्लेख गरेको छ। त्यहाँबाट उनीहरूले लाई एउटा चार्टर्ड जहाजबाट औरंगाबाद हुँदै ऋषिकेशको पर्वतीय क्षेत्रमा स्थापित रामदेवको आश्रममा पुर्‍याएको दाबी ‘द वीक'ले गरेको छ। 
अप्रिल १३ मा एउटा सेतो कारमा एक जना महिला रामदेवको आश्रममा पुगेकी त्यहाँका मजदुरले बताएको म्यागाजिनले दाबी गरेको छ। यसैगरी द्वारिका पीठका शंकराचार्य स्वरुपानन्द सरस्वतीनिकट सुत्र उद्धृत गर्दै म्यागाजिनले छापेको छ, ‘अहिले जसोदाबेनलाई अत्यन्त कडा सुरक्षा घेरामा राखिएको छ। ती सुरक्षाकर्मी गुजरातका सरकारी सुरक्षा एजेन्सीसँग सम्बन्धित छन्। शायद जसोदाबेनलाई आफू जोसँग तीर्थ गइरहेकी छु, उनीहरू तीर्थ यात्री नभएर सर्वसाधारणको आँखाबाट आफूलाई ओझेल पार्न तैनाथ गरिएका सुरक्षाकर्मी हुन् भन्ने कुनै जानकारी थिएन।'
मोदीले लोकसभा चुनावका लागि भरेको मनोनयन पत्रमा आफू विवाहित भएको पहिलोपल्ट सार्वजनिक रुपमा स्वीकारेका थिए। यसअघिका चुनावमा भने उनले वैवाहिक स्थितिबारे उल्लेख गर्ने ठाउँ खाली राख्ने गरेका थिए। उनले आफू विवाहित भएको स्वीकारेपछि भाजपामा निकै खैलाबैला भएको थियो। त्यसबेला मोदी प्रधानमन्त्री बनुन् भनेर भाकल गर्न जसोदाबेन चार धामको यात्रामा जाने समाचार सार्वजनिक भएका थिए । तर ‘द वीक' साप्ताहिक म्यागाजिनका अनुसार रामदेवको नीलकण्ठ महादेव मन्दिरनजिकको आश्रममा लोकसभा चुनावसम्मका लागि जसोदाबेनलाई त्यहाँ राखिएको खासखुस सुनिने गरेको छ।

प्रकाशित: १० वैशाख २०७१ २२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App