५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

अमेरिकी राष्ट्रपति जापानमा

टोकियो, (एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामा एसिया भ्रमणका क्रममा बुधबार जापानको राजधानी टोक्यो पुगेका छन्। ‘एयर फोर्स वन' नामक विशेष जहाजमा ओबामा औपचारिक भ्रमणमा जापान पुगेका हुन्।

अहिले क्षेत्रीय र आणविक परीक्षणबारे जापान–उत्तर कोरियाबीच तनावको स्थितिमा छ। ओबामाको एसियाली भ्रमणबाट अमेरिकी विदेश नीति सन्तुलित पार्ने अमेरिकी प्रयासका रुपमा लिइएको छ। 
राष्ट्रपति ओबामा जापानपछि अरु एसियाली राष्ट्र दक्षिण कोरिया, फिलिपिन्स र मलेसिया भ्रमणमा जानेछन्। ओबामा यी एसियाली राष्ट्रको भ्रमणमा आएको यो पाचौं पटक हो। राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएअनुसार ओबामाले भ्रमणमा यी एसियाली राष्ट्रका नेतासँग समसामयिक विश्व राजनीतिका साथै विश्व घटनाक्रमबारे छलफल गर्नेछन्। ओबामाले दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटघाटका क्रममा उत्तर र दक्षिण कोरियाबीच विवादबारे पनि छलफल गर्ने छन्। 
हालै दक्षिण कोरिया र जापानबीच पनि बढ्न थालेको तनाव कम गर्नका लागि पनि ओबामाले दुवै देशका नेतासँग कुराकानी गर्नेछन्। उनी अप्रिल २६ मा मलेसिया पुग्नेछन्। राष्ट्रपति ओबामा सन् १९६६ पछि मलेसिया भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। त्यसपछि उनी अप्रिल २८ मा फिलिपिन्स जानेछन्। उनले फिलिपिनी राष्ट्रपतिसँग द्विपक्षीय हितबारे छलफल गर्नुका साथै संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। राष्ट्रपति ओबामाले जापान र मलेसिया भ्रमणका क्रममा पनि द्विपक्षीय हित प्रवर्द्धनका साथै व्यापारिक साझेदारीमा पनि कुराकानी हुनेछन्।

प्रकाशित: १० वैशाख २०७१ २२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App