राहुलले निकै आक्रामक हुँदै भने, 'गुजरातका मुख्यमन्त्रीको शक्ति अर्थात जनताको अख्तियारको प्रयोग एक जना महिलाको टेलिफोन अनुगमन गर्न दुरुपयोग भइरहेकेा छ। मोदीले राज्यको सम्पूर्ण प्रहरीलाई एक जना महिलाको पछाडि परिचालन गरेका छन्, तर राजधानी दिल्लीमा भने मोदी हामी महिलालाई शक्तिशाली बनाउँछौं भनेर भित्तामा पोस्टर टाँस्छन्।'
उनले भने, 'राजधानीका भित्तामा टाँसिएका भाजपा पोस्टरमा महिलालाई शक्तिशाली बनाउने नारा लेखिए पनि छत्तिसगढमा २० हजार महिला बेपत्ता भएको र बेंगलोरमा महिला पिटिएकोमा मोदी आँखा चिम्लन्छन्।' राहुलले थपे, 'कंग्रेस र भाजपाबीचको अन्तर नै यही हो। कंग्रेस जनताको शक्तिको प्रयोग जनताकै उन्नतिका लागि गर्छ। कंग्रेस महिलालगायत सबैको सम्मान चाहन्छ।'
समान्यतया शालीन रुपमा प्रस्तुत हुने राहुल सोमबार भने विपक्षी दल भाजपा र मोदीप्रति निकै आक्रामक भएका थिए। उनले सर्वसाधारणलाई सूचनाको हक कंग्रेसले नै दिएको र कसैले पनि राज्य सरकारका सबै काम कारबाहीबारे जानकारी लिनसक्ने बताए। उनले लोकपाल विधेयक पनि कंग्रेसले नै ल्याएको दाबी गरे। उनले भाजपाको घोषणापत्रमा एक पंक्तिमात्र लेखेर भ्रष्टाचार नियन्त्रणमा झारा टारेको आरोप लगाए। उनले भने, 'भाजपा भ्रष्टाचार नियन्त्रणका लागि के गर्छ र कस्तो कानुन ल्याउँछ भन्नेबारे उसको घोषणापत्रमा एक पंक्ति भ्रष्टाचारविरुद्ध लडछौं मात्र उल्लेख छ।' राहुलले कंग्रेसको घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणका लागि कुन कुन र कस्ता कानुन ल्याउने प्रष्ट उल्लेख गरेको दाबी गरे। राहुलले शनिबार उत्तर प्रदेशको अमेठी लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। उनीविरुद्ध अमेठीमा भाजपाले स्मृति इरानी र आम आदमी पार्टीले नेता कुमार विश्वासलाई उठाएका छन्। राहुलले अमेठीबाट सन् २००४ र २००९ मा लोकसभा चुनाव जितेका थिए।
प्रकाशित: १ वैशाख २०७१ २१:२७ सोमबार





