अमेठी (उत्तर प्रदेश), (एजेन्सी)– कंग्रेस उपाध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमेठी चुनाव क्षेत्रबाट लोकसभा चुनावका लागि शनिबार उम्मेदवारी दर्ता गराएका छन्।अमेठीकै चार जना स्थानीय कंग्रेस कार्यकर्ता प्रस्तावक रहेको राहुलको उम्मेदवारी दर्ताका बेला उनको पुरै परिवार साथै थियो। उम्मेदवारी दर्तापछि राहुलले आफूले अमेठीका लागि, त्यहाँका किसानका पक्षमा इमानदारीपूर्वक काम गरेको बताए। उनले अमेठीसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै यसपल्टको चुनावमा पनि ठूलो मत अन्तरबाट आफू विजयी हुने दाबी गरे। उनले अमेठीमा आफूले युवा र महिलाका लागि धेरै काम गरेको दाबी पनि गरे।
राहुलले विभिन्न चुनावी सर्वेक्षणका नतिजामा विश्वास गर्न नसकिने बताए। उनले गएका दुई लोकसभा चुनावको उदाहरण दिँदै सन् २००४ र २००९ मा गरिएका चुनावी सर्वेक्षण बकम्फूसे सावित भएको उल्लेख गरे। कंग्रेस अध्यक्ष आफ्नी आमा सोनिया गान्धी, बहिनी प्रियंका र ज्वाईं रबर्ट वाड्रासहित राहुल उम्मेदवारी दर्ता गर्न चुनाव आयोगको कार्यालय पुगेका थिए। उम्मेदवारी दिनुअघि राहुल र सोनिया दुवैले चुनाव प्रचारका लागि रोड सोमा सहभागी भएका थिए। रोड सोमा ठूलो जनसमुदाय उपस्थित थियो।
प्रकाशित: २९ चैत्र २०७० २१:०१ शनिबार