राष्ट्रपति ओबामाले दुई महिनाअघि अमेरिकाको सुरक्षाका लागि व्यापक स्तरमा यस्ता अनुगमन आवश्यक भए पनि व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नु पनि उत्तिकै महत्वपूर्ण भएको बताएका थिए। ओबामाले एनएसएद्वारा उपयोग गरिएको मेटाडाटा अनुगमन प्रणाली बन्द हुनसक्ने जनाएका थिए। मेटाडाटा प्रणालीमा एनएसएले टेलिफोन वार्ताको समय, कल संख्या र नम्बरको अभिलेख राखिन्छ।
ओबामाले न्याय प्रशासन र गुप्तचर अधिकारीलाई टेलिफोन अनुगमनबारे वैकल्पिक योजना मार्च २८ सम्म पेश गर्न समय दिएको पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
नयाँ प्रस्तावमा दूरसञ्चार कम्पनीले उपयुक्त प्राविधिक स्वरुपमा टेलिफोन अभिलेख सुरक्षा निकायलाई उपलब्ध गराउनु पर्ने प्रावधान राखिएको सरकारी अधिकारीले बताए। यस्तो अभिलेख सुरक्षा निकायले माग गरेका बेला र त्यसपछि पनि नियमित रुपमा दूरसञ्चार कम्पनीले उपलब्ध गराउनु पर्नेछ। कम्पनीहरूले यस्ता अभिलेख लामो समय आफूसँग नराखि सुरक्षा निकायलाई दिनुपर्ने न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
अहिलेको व्यवस्थाअनुसार दूरसञ्चार कम्पनीले १८ महिनासम्म मात्र यस्ता अभिलेख राख्न पाउँछन् भने एनएसएले ५ वर्षसम्म राख्न पाउँछ। कंग्रेसबाट नयाँ नियम पारित नहुन्जेल ओबामा प्रशासन एनएसएले अपनाइरहेको अनुगमनको पुरानै प्रणाली ९० दिनसम्म कायम गर्न चाहन्छन्। तर एनएसले विदेशमा गर्ने अनुगमन प्रणालीमा परिवर्तन हुने नहुने वा कस्ता परिवर्तन हुने भन्ने बारे न्युयोर्क टाइम्सले केही पनि उल्लेख गरेको छैन।
अमेरिकाली सुरक्षा निकाय एनएसएद्वारा देशभित्र र विश्वका विभिन्न देशमा व्यापक रुपमा टेलिफोन अनुगमन गरिएको खुलासा भएपछि विश्वभर नै तीव्र विरोध भएको थियो। एनएसएकै पूर्वकर्मचारी एडवार्ड स्नोडनले केही महिनाअघि टेलिफोन अनुगमनको खुलासा गरेका थिए। खुलासापछि विश्वभर नै अमेरिकाको व्यापक आलोचना भएको थियो।
अनुगमन खुलासापछि स्नोडन भागेर हङकङ हुँदै रुसको राजधानी मस्को पुगेर अस्थायी शरण लिइ बसेका छन्। यसपछि पनि स्नोडनले ब्राजिल, फ्रान्स, इजरेल, चीन र जर्मनीलगायत विभिन्न देशमा एनएसएले टेलिफोन अनुगमन गरेको सार्वजनिक गरेका थिए। जर्मन चान्सलर एन्जेला मर्केलको समेत १० वर्षदेखि मोबाइल अनुगमन गरेको खुलासा भएपछि मर्केल निकै क्रुद्ध भएर ओबामासँग टेलिफोनमै आक्रोश पोखेकी थिइन्। एनएसएले राजनीतिक नेता र सर्वसाधारणमात्र नभएर व्यापारिक जासुसी गरेको पनि स्नोडनले सार्वजनिक गरेका थिए।
प्रकाशित: ११ चैत्र २०७० २०:४६ मंगलबार





