नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
धनगढी उपमहानगरपालिका–३ स्थित फाप्लामा आज फाप्ला स्पोर्ट्स क्लबले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता आलेले धनगढीलाई ‘क्रिकेटको सहर’ का रूपमा स्थापित गर्न आधुनिक पूर्वाधार निर्माण अपरिहार्य रहेको बताए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं-५ बाट उम्मेदवारी दर्ता गराएका नेता आलेले आफ्नो चुनावी एजेन्डामा खेलकुद विकास मुख्य प्राथमिकतामा रहेको बताए।
‘धनगढी क्रिकेटको सहरका रूपमा परिचित हुँदै गएको छ,’ उनले भने, ‘यही पहिचानलाई अझ मजबुत बनाउन फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला र बहुउद्देश्यीय खेलग्राम बनाउन म आवश्यक सम्पूर्ण पहल गर्नेछु।’
आफ्नो कार्यशैलीप्रति इंगित गर्दै पूर्वमन्त्री आलेले भने, ‘बन्दुकबाट निस्केको गोली र प्रेम आलेको मुखबाट निस्केको बोली एउटै हो। म जे बोल्छु, त्यो पूरा गरेरै छाड्छु। सुदूरपश्चिमको खेलकुद, पर्यटन र भौतिक पूर्वाधार विकास मेरो पहिलो प्राथमिकता हो।’
उनले खेलकुद विकासले युवालाई अनुशासित र आत्मनिर्भर बनाउने भन्दै अन्तर्राष्ट्रिय स्तरका संरचना बनेपछि यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको बाटो खुल्ने धारणा राखे।
प्रकाशित: ७ माघ २०८२ १५:३० बुधबार





