९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

चीनद्वारा जारी अवशेषको तस्बिर गलत

क्वालालम्पुर, (एजेन्सी)– बेपत्ता जहाजको अवशेष भन्दै चीनद्वारा जारी गरिएको तस्बिर गलत रहेको खुलासा भएको छ। मलेसियाली यातायातमन्त्री हिसामुद्दिन हुसेनले चीनद्वारा आफ्नो भूउपग्रहबाट लिइएको बेपत्ता जहाजको अवशेष भन्दै गल्तिले बुधबार तस्बिर जारी भएको बिहीबार जानकारी दिए।राजधानी क्वालालम्पुरमा यातायातमन्त्री हुसेनले तस्बिर भूलवश सार्वजनिक भएको र जहाजको अवशेष नभएको चिनियाँ दूतावासबाट आफूलाई जानकारी दिइएको बताए। चीनको सरकारी वेबसाइटमा चिनियाँ भूउपग्रहबाट लिइएको बेपत्ता जहाजको अवशेष भन्दै बुधबार एउटा तस्बिर राखिएको थियो।
मलेसियाली जहाजको विमानस्थलसँग सम्पर्क विच्छेद भएपछि पनि कैयौं घण्टा उडेको अमेरिकी भनाइको हुसेनले खन्डन गरे। अमेरिकाको वाल स्ट्रिट जर्नलले सम्पर्क विच्छेदपछि पनि जहाज चार घण्टाभन्दा बढी उडेको सार्वजनिक गरेको थियो। 
मलेसिया वायुसेवाको उडान एमएच३७० गएको शनिबार क्वालालम्पुरबाट बेइजिङका लागि उडेको एक घण्टामा नै बेपत्ता भएको थियो। २३९ जनासहित बेपत्ता जहाजको ४३ पानीजहाज र ४० विमानले खोजी गर्दासमेत छैटौं दिन पनि फेला परेको छैन। 
मन्त्री हुसेनले जहाज बेपत्ता हुनु विस्मयकारी भएको उल्लेख गरे। क्वालालम्पुरस्थित चिनियाँ दूतावासद्वारा ती तस्बिर जहाजको अवशेषको नभएको र भूलवश जारी भएको जानकारी आफूले पाएको उनले बताए। 
जहाजबाट उडानबारे प्राप्त अन्तिम जानकारीअनुसार जहाज सामान्य स्थितिमा रहेको हुसेनले जानकारी दिए। हुसेनले जहाज खोज्न मलेसियाली सरकारले कुनै कसर बाँकी नराख्ने र अहिले दक्षिण चीन समुद्रसँगै मलक्का जलडमरु र अन्डमान सागरमा समेत खोजी भइरहेको जनाए। 
चीनद्वारा अवशेष फेला पारेको दाबीपछि बिहीबार त्यहाँ आफ्ना तीन जहाज पठाए पनि केही फेला नपरेको भियतनामले जानकारी दिएको छ। 
चीनले जहाजको खोजी जारी राख्ने
चिनियाँ प्रधानमन्त्री ली खछियाङले बेपत्ता जहाज नभेटुन्जेल खोजी जारी राख्ने बताएका छन्।
प्रधानमन्त्री लीले चीनकेा राजधानी बेइजिङमा जहाज नभेटुन्जेलसम्म खोजी गर्ने बिहीबार जानकारी दिएका हुन्। जहाजमा रहेका २३९ जनामध्ये १५३ जना चिनियाँ नागरिक थिए। उनले बेपत्ता चिनियाँ नागरिक र उनीहरूका परिवारको पीडाले पूरै देश शोकमग्न भएकाले जहाज नभेटिँदासम्म खोजी गर्ने प्रतिबद्धता बिहीबार जनाए।
प्रधानमन्त्री लीले बेपत्ता जहाजको खोजीमा चीनद्वारा आठ वटा पानी जहाज जुटेका र बिहीबार एउटा पानी जहाज फेरि पठाउन लागेको जानकारी दिए। जहाजको खोजीमा चीनले १० वटा भूउपग्रह प्रयोग गरेको उनले जानकारी दिए। लीका अनुसार चीनले जहाज पत्ता लगाउन बिहीबार थप भूउपग्रह प्रयोग गर्नेछ। 
भूउपग्रहबाट समेत बेपत्ता जहाज फेला पार्न नसकिएकोले चीनले बिहीबार अत्याधुनिक प्रविधियुक्त भूउपग्रहको प्रयोग चीनले गर्ने भएको हो। 
भारतीय सामुद्रिक सीमा सुरक्षा बल पनि बेपत्ता जहाजको खोजीमा जुटेको छ। मलेसियाले अन्डमान सागरमा जहाज खोजी गर्न भारतसँग सहयोग मागेको थियो।

प्रकाशित: २९ फाल्गुन २०७० २३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App