बिहीबार भाजपा संसदीय समिति बैठक बसे पनि चुनाव क्षेत्रबारे कुनै निर्णय भएन। भाजपाका प्रधानमन्त्री उम्मेदवार मोदीसहित अध्यक्ष राजनाथ सिंह, लालकृष्ण आडवाणी र मुरलीमनोहर जोशीजस्ता वरिष्ठ नेताको चुनाव क्षेत्र अझै टुंगो लागेको छैन। मोदी बनारसबाट उठ्ने अनुमान गरिए पनि बिहीबार यसबारे संसदीय समिति बैठकले कुनै निर्णय गरेन।
७१ चुनाव क्षेत्रमा कंग्रेसका उम्मदेवार घोषणा
उता बिहीबार नयाँ दिल्लीमा बसेको सत्तारुढ दल कंग्रेसको केन्द्रीय चुनाव समिति बैठकले ७१ चुनाव क्षेत्रमा आफ्ना उम्मेदवारको सूची जारी गरेको छ।
कंग्रेसले उम्मेदवारको दोस्रो सूची जारी गरेको हो। बिहीबार जारी दोस्रो सूचीमा कंग्रेसले युवालाई प्राथमिकता दिएको छ। कंग्रेसले दोस्रो सूचीमा फिल्म अभिनेत्री नगमासहित ११ महिला समेटेको छ। सूचीमा कंग्रेसको भातृ संगठन युवा कंग्रेसका नौ जनाको उम्मेदवारि समेटिएको छ।
कंग्रेसको दोस्रो सूचीमा उत्तर प्रदेशका १३ जना, महाराष्ट्रका ७ जना, केरलका १५ जना, कर्नाटकका १० जना, हिमाचल प्रदेशका ३ जना र गुजरातका १ जना उम्मेदवार परेका छन्। केन्द्रीय मन्त्री ससि थरुरलाई कंग्रेसले केरलमा उम्मेदवार बनाएको छ।
भारतको निर्वाचन नौ चरणमा गर्नेगरी तयारी भइरहेको छ। उक्त निर्वाचन अप्रिल ७ देखि सुरु भएर मे महिनाको १२ तारिखसम्म गरिने छ।
आसन्न यस निर्वाचनमा भारतका कम्तीमा पनि ८१ करोड ४० लाख नागरिकले मतदान गर्ने भएका छन्। निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा गत निर्वाचनको भन्दा बढी मतदाता रहेका छन्।
प्रकाशित: २९ फाल्गुन २०७० २३:२७ बिहीबार





