१२ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

लगानीकर्ता तान्न 'इन्फो नेपाल इभिनिङ'

कोपनहेगन-डेनमार्कस्थित नेपाली राजदूतावासले डेनिस लगानीकर्तालाई नेपाल बोलाउन राजधानी कोपनहेगनमा 'इन्फो नेपाल इभिनिङ' कार्यक्रम गरेको छ।


स्थानीय व्यापारी, उद्योगपति, बैंकर तथा पर्यटन क्षेत्रका उद्यमीको सहभागिता रहेको कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्टले देशको सामाजिक–आर्थिक विकासमा योगदान गर्न अनुरोध गरे। उनले नेपालमा लगानी गर्न डेनिस लगानीकर्तालाई अनुरोध गरे। कृषि, जलविद्युत, पर्यटन, पूर्वाधार निर्माणलगायत क्षेत्रको लगानीमा सरकारले प्राथमिकता निर्धारण गरेको जानकारी गराउँदै उनले नेपालको राजनीतिक अवस्था स्थिर हुँदै गएकोले लगानीका लागि उपयुक्त ठाउँ रहेको औंल्याए।

उनले नेपालले अंगीकार गरेको आर्थिक नीतिबारे पनि प्रस्ट्याएका थिए। दूतावासका नियोग उपप्रमुख रामकाजी खड्काले नेपालको पर्यटनबारे कार्यपत्र पेस गरेका थिए। उनले डेनिसहरुलाई नेपाल भ्रमण गर्न सुझाए। बिबिसीले प्रसारित गरेको ५० भ्रमण गर्नैपर्ने ठाउँमा नेपाल ३०औं स्थानमा रहेको उनले जानकारी गराए।

इन्जिनियरहरु रामप्रसाद काफ्ले र मनिष तिमल्सिनाले नेपालको जलविद्युतमा रहेको सम्भावना, यसमा लगानी गर्ने तरिका र यसको आन्तरिक र बाह्य बजारबारे स्लाइडमार्फत जानकारी गराएका थिए। कार्यक्रमको अन्तर्क्रिया सत्रमा डेनिस नागरिक नेपालको पर्यटन र जलविद्युतमा लगानीबारे जिज्ञासा राखेका थिए।

सो अवसरमा एसिया हाउसका उपाध्यक्ष कारस्टोन डेनकरले घुम्नको लागि नेपाल अन्त्यन्त उपयुक्त गन्तव्य भएको र नेपाल घुम्नेले हिमाल, पहाड र तराईको एकैपटक अनुभव गर्न सक्ने बताए।

कार्यक्रमपछि नागरिकसँगको कुराकानीमा डेनमार्कको लोकप्रिय नोडिया बैंकका उपाध्यक्ष हेनरिक ब्रिंकले नेपालले गरेको यस्तो कार्यक्रमबाट लगानीकर्ताले केही जानकारी पाए पनि लगानीकै लागि भने तयार नभइसकेको प्रतिक्रिया दिए। नेपालको राजनीतिक अवस्थाबारे जानकार उनले त्यो अझै पनि स्थिर भइनसकेकोले डेनिसहरु अझै केही वर्ष पर्ख र हेरको मनस्थितिमा रहन सक्ने बताए।

इन्भेस्टमेन्ट फन्ड फर डेभलपिङ कन्ट्रिजका सिनियर इन्भेस्टमेन्ट मेनेजर आइबी अल्बरसटनले पनि लगानीको लागि राजनीतिक स्थिरतानै पहिलो तथा अनिवार्य सर्त रहेको बताए।

प्रकाशित: २२ फाल्गुन २०७० ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App