८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

एमाले बेलायतद्वारा नागरिकता निरन्तरताको माग

लण्डन- प्रवासी नेपाली मञ्च यूकेले नयाँ संविधानमा गैरआवासीय नेपालीको नागरिकता निरन्तरताको मागलाई सम्बोधन गर्न माग गरेको छ । आइतबार बेलायतस्थित रेडिङमा सम्पन्न बैठकले नेकपा (एमाले) को नवौं महाधिवेशनको कार्यपत्रमा नेपाली नागरिकताको निरन्तरता विषयलाई समावेश गराउने, नेपाल सरकार, संविधानसभा तथा नेपालका राजनीतिक दल तथा अन्य पक्षहरुसँग नागरिक निरन्तरताका अभियानलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको मञ्चले जनाएको छ ।  मञ्च नेकपा एमालेको विदेशमा रहेको भ्रातृ संस्था हो।
एमाले विदेश विभाग प्रमुख भीम रावलले गैरआवासीय नेपालीले माग गरेजस्तो नयाँ संविधानमा दोहोरो नागरिकताको व्यवस्था गर्न नसकिने अभिव्यक्ति दिएको एक महिना नपुग्दै मञ्चले यस्तो माग राखेको हो ।
मञ्चले नयाँ संविधानमा नेपाली नागरिकताको निरन्तरता ग्यारेन्टी हुनुपर्ने माग गरेको छ । गत महिना सम्पन्न मञ्चको दोस्रो अधिवेसनलाई सम्बोधन गर्दै नेता रावलले नयाँ संविधानमा दोहोरो नागरिकता नदिने भन्ने निर्णय भइसकेको अभिव्यक्ति दिएका थिए । 
प्रवासमा बस्ने नेपालीको नागरिकता समस्याबारे बैठकमा कार्यदलका सदस्यहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाले ‘नेपाली नागरिकताको निरन्तरतासम्बन्धी अभियानको विगत, वर्तमान र भविष्य’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपाली नागरिकता बचाउ अभियानबारे विगत संविधानसभामा भएको प्रगतिको बारेमा जानकारी गराएका थिए । प्रवासमा बसेका नेपालीहरुको प्रमुख सरोकारको विषय नागरिकताको निरन्तरता हो । यो मागलाई नेपालका राजनीतिक दलहरुले कसरी ग्रहण गरेका छन् र विगत निर्वाचनमा ती दलका घोषणापत्रमा कसरी समाविष्ट गरेका छन् भन्ने कुरा सिम्खडाले कार्यपत्रमा सविस्तार उल्लेख गरेका थिए । 
बैठकमा कार्यदलका सदस्य डा. अच्यूत गौतमले ‘विश्व–भूमण्डलीकरणको यूगमा नागरिकताको सैद्धान्तिक अवधारणा र नेपाली नागरिकताको निरन्तरताको महत्व’ विषयक कार्यपत्र प्रस्तुत गरे । उनले विश्वग्रामको युगमा एक देशको नगारिक अर्को देशमा बसाई सर्ने क्रम तीब्र बन्दै गएको बस्तुगत अवस्थामा नेपालले पनि यस कुरालाई आत्मसात गर्नुपर्ने धारणा राखे । 
बैठकमा कार्यदलका सदस्य डा. कृष्ण रेग्मीले ‘दोहोरो नागरिकताको विश्वव्यापी प्रयोग र नेपाली नागरिकताको निरन्तरताको प्रसँग’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले २१औं शताव्दीको अत्याधुनिक भूमण्डलीकृत विश्वमा दोहोरो नागरिकता विश्वभर प्रभावकारी रुपमा प्रयोग भइरहेको तथ्यांक पेश गरे । उनले साउथ एशियामा पाकिस्तानले अंगिकार गरेको दोहोरो नागरिकताको मोडेललाई नेपालले पनि अवलम्बन गर्दा प्रवासी नेपालीको मागलाई सम्बोधन हुनसक्ने विचार राखे ।

प्रकाशित: १४ फाल्गुन २०७० ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App