जिल्लामा प्रवासी नेपालीको सहयोग पाउनेको संख्या ठूलो छ। विभिन्न देशमा बस्ने प्रवासी नेपालीले विपद्मा परेका जिल्लावासीलाई सहयोग गरिरहेका छन्। युके समाज गुल्मीले शनिबारमात्रै एक कार्यक्रम गरेर जिल्लामा अपांगताको क्षेत्रमा काम गरिरहेको आशा अपाङ केन्द्रलाई पाँच लाख सहयोग गरेको छ। समाजले हालःसम्म उक्त केन्द्रलाई मात्र २२ लाख रुपैँया सहयोग गरेको केन्द्रका अध्यक्ष जनार्दन घिमिरेले बताए। 'हामी पनि आफ्नै बाध्यता विवशताले विदेश गएका हुन्छौं। तर आफ्नो गाउँठाउँमा सहयोग गर्नुपर्छ भन्ने भावनf पलाउँछ,' युके समाजका मिडिया तथा आइटी सेक्रेटरी फणीन्द्र भट्टराई भन्छन्, 'हामी सबैले थोरै-थोरै जम्मा गरेर दिएको पैसाले कसैलाई ठूलो सहयोग बन्छ।' प्रवासमा रहेका नेपालीले आफ्ना प्रतिनिधिमार्फत जिल्लामा सहयोगको याचना गरिरहेका ब्यक्ति र संस्थालाई समय समयमा सहयोग पठाइरहेका छन्। अमेरीका, बेलायत, लण्डनजस्ता धेरै आम्दनी हुने देशमात्र हैन थोरै आम्दानी हुने देशमा रहेका नेपालीले पनि सहयोग पठाइरहेका छन्।
कतारमा बस्ने गुल्मेलीले एउटा संस्था नै गठन गरेर कतारमा दुःख पर्नेलाई सघाउँछन्। उनीहरुले जिल्लामा पनि समय समयमा विपद्मा परेकालाई सघाइरहेका छन्। गुल्मी सेवा समाज दोहा कतारले केही महिना अगाडि हस्तिचौर गाविसका ब्लड क्यान्सर पीडित रमेश घिमिरेलाई सहयोग पठाएका थिए। उनीहरुले आइतबार पनि सदरमुकाम तम्घासमा एक कार्यक्रम गरेर जिल्लाका २ जना मृगौला पीडितलाई सहयो गरे। ठूलोलुम्पेक–५ की मृगौला पीडित तिलमाया तरामु र नेटा–५ का मृगौला पीडित गोपाल परियारलाई संस्थाबाट २५/२५ हजार सहयोग प्रदान गरे। समाजका सह कोषाध्यक्ष झबिन्द्र आचार्यले त आफ्नो ब्यक्तिगत रुपमा ५/५ हजार रुपैँया छुट्टै पनि प्रदान गरे।
'कतारमा रोजगारीको शिलशिलामा दुःख पाउनेलाई निशुल्क सहयोग गर्छौं। गुल्मेलीहरु हामीकहाँ आएभने उनीहरुलाई सानो सानो काममा दूतावास धाउनु परेको छैन्,' गुल्मी सेवा समाज दोहा कतारका कोषाध्यक्ष बुद्ध पाण्डेले भने, 'हामीले पनि विदेशमा लेबर काम गर्ने हो। आफ्नो जिल्लाका मानिसलाई थोरै धेरै सहयोग पनि गरेका छौं।' उनले आफूहरु काम गरेर बाँकी रहेको समयमा चन्दा संकलन गरेर विभिन्न समयमा जिल्लाका आपतमा परेकाहरुलाई सहयोग पठाइरहेको बताए।
प्रवासीले जिल्लामा सहयोगको याचना गरिरहेका गम्भीर रोगबाट पीडित, गरिब, विपन्न, सञ्चारकर्मी, सामाजिक संघसंस्थालगायतका क्षेत्रमा सहयोग पठाइरहेका छन्। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट कसैले सहयोगको याचना गरिहरको थाहा पाएपछि उनीहरुले सहयोग पठाउने गरेका हुन्।
प्रकाशित: ९ पुस २०७० ०३:०२ मंगलबार





