पाकिस्तानका एक जना सैनिक अधिकारीले पाक प्रधानमन्त्री सरिफको अमेरिका भ्रमणको बेवास्ता गरेर पोस्टमा समाचार छापिएको बताए। उनले अमेरिकाको ड्रोन आक्रमण पाक सर्वसाधारणबीच अत्यन्तै अलोकप्रिय भएको बताए।
पाकिस्तानले ड्रोन आक्रमण गर्न अमेरिकालाई अनुमति दिएको मात्र नभइ पाक सरकारले आक्रमणमा सहयोगसमेत गरेको अमेरिकी अखबार वासिङटन पोस्टले बुधबार छापेको थियो। पोस्टले आक्रमणका लागि अनुमति दिएको र सघाएको समाचार छापेलगत्तै पाकिस्तानले बिहीबार समाचारको खण्डन गरेको हो। पोस्टले बुधबार ड्रोन आक्रमणमा पाक सरकारले सहमति दिएका कारण गरिएको खुलासा गरिएको अमेरिकी सरकारको एउटा गोप्य प्वेदनबारे समाचार छापेको थियो।
यसैबीच अमेरिकाको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग वासिङटनमा स्थानीय समयअनुसार बुधबार भेटवार्ता गरेका छन्। ओबामा सँगको भेटवार्तामा सरिफले पाकिस्तानमा अमेरिकी ड्रोन आक्रमण रोक्न आग्रह गरेका थिए।
आक्रमण रोक्न सरिफले ओबामासँग गरेको आग्रहपछि पोस्टले पाक अनुमतिबारे समाचार छापेको थियो। पोस्टले आफ्नो समाचारमा आक्रमणका लागि पाकिस्तान सरकारले सहयोग गरेको उल्लेख गरेको थियो।
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले ड्रोन आक्रमणले पाकिस्तानमा मानव हत्याको शृंखला सुरु भएको भन्दै तुरुन्त रोक्न अमेरिकासँग आग्रह गरेको दुई दिनपछि पोस्टले समाचार छापेको हो। आक्रमणबाट पाकिस्तानी सर्वसाधारणको मृत्यु हुने गरेको भन्दै पाकिस्तानले विरोध गर्ने गरेको।
सरिफलाई प्रश्न
ओबामाले भेटवार्तामा सरिफसँग मुम्बई आक्रमणका दोषीमाथि कारबाही किन नगरेको भनी सोधेका थिए। उनले सरिफसँग आतंकवादविरुद्ध पाकिस्तानको रणनीतिबारे जिज्ञासा राखेका थिए।
ओबामा–सरिफ वार्तामा कुनै ठूला सम्झौता नभए पनि आर्थिक र सामरिक विषयमा कुराकानी भएको थियो। दुवैले अमेरिका–पाकिस्तान द्विपक्षीय सम्बन्धमा उब्जेका सम्वेदनशील विषयमा छलफल गरेका थिए।
वार्तापछि ओबामाले पाकिस्तानलाई सहयोग गर्ने आश्वासन दिए पनि ड्रोन आक्रमण रोक्ने कुनै संकेत दिएनन्। ओबामाले पाकिस्तानको सार्वभौमिकतामा आँच नआउने गरी आतंकवाद नियन्त्रण गर्ने नयाँ उपाय खोज्न दुवै देश सहमत भएको बताए। सरिफले वार्तापछि पत्रकारसँग कुरा गर्दै पाकिस्तानको सम्मान र सार्वभौमिकताको रक्षा गर्न ड्रोन आक्रमण रोक्न आफूले आग्रह गरेको बताएका थिए।
ओबामाले आतंकवादविरुद्ध सहकार्य गर्न दुवै देश सहमत भएको बताए। अमेरिकाले आतंकवादी लडाकु समूह अल–कायदा प्रमुख ओसामा बिन लादेनलाई मारेपछि पाकिस्तान–अमेरिका सम्बन्ध चिसिएको थियो। पाकिस्तानको अबोटाबाद सहरमा सुरक्षित लुकेका लादेनमाथि अमेरिकाले पाकिस्तानलाई कुनै जानकारी नदिइ आक्रमण गरेर मारेको थियो। त्यसपछि अमेरिकाले पाकिस्तानलाई नियमित दिँदै आएको सहयोग आंशिक प्रतिबन्ध लगाएको थियो। सरिफसँग भेट्नुभन्दा दुई दिनअघि ओबामाले प्रतिबन्ध फुकुवा गरी १.६ अर्ब अमेरिकी डलर सहायता दिने घोषणा गरेका थिए।
प्रकाशित: ८ कार्तिक २०७० ००:२९ शुक्रबार





