'डेमोत्रे्कट' पृष्ठभूमिका घलेले अध्यक्षमा उम्मेदवारी दिएलगत्तै हङकङमा नागरिकसँग कुरा गर्दै 'एनआरएनएलाई पार्टी राजनीतिबाट टाढा राख्नुपर्ने' तर्क गरेका थिए। तर परिस्थिति यस्तो बन्यो, अध्यक्षमा विजयी हुन उनी पनि पार्टी नेताका घर धाउन बाध्य भए। प्रतिद्वन्द्वी तेन्जी शेर्पाले आफ्नो पक्षमा एमालेबाट 'ह्विप' नै जारी गराएपछि कांग्रेस र एकीकृत माओवादीको आशिर्वाद लिनु घलेको चुनावी बाध्यता बन्यो।
एमाले नेता भीम रावल शनिबार गाडीमा झन्डा हल्लाउँदै सोल्टी होटल छिरेसँगै एनआरएन अधिवेशनमा पार्टी राजनीतिले औपचारिक प्रवेश पायो। एमाले समर्थक एनआरएनलाई भेला गरी अध्यक्षमा तेन्जी शेर्पा सहितको प्यानललाई जिताउन निर्देशन दिएर रावल बाहिरिएको खबर तत्कालै होटलबाट कांग्रेस तथा एमाओवादी नेताका कानसम्म पुग्यो।
त्यही साँझ भेला भएका 'डेमोत्रे्कट' एनआरएनबीच कांग्रेस नेताहरूले घलेलाई समर्थन गर्न आग्रह गर्दै अध्यक्षका प्रत्यासी रामेश्वर साहलाई उम्मेदवारी फिर्ता लिन दबाब दिए। कांग्रेस भेलामा ढिलो पुगेका घलेको समर्थनमा लामो समय ताली बजेपछि हच्किएका साहले शनिबार नै 'ब्याक' हुने मनस्थिति बनाइसकेको उनी निकट एनआरएनले चाल पाए।
संविधानसभा चुनावको चटारोबीच पनि प्रमुख पार्टीहरू एनआरएन राजनीतिमा सक्रिय भए। एमालेले आफ्ना उम्मेदवार नै तोकेपछि एमाओवादी पनि सक्रिय भयो। आफू समर्थक एनआरएनलाई आइतबार सोल्टी होटल बाहिर बोलाएर एमाओवादी नेताहरूले सम्भावित परिणामको समेत आँकलन गर्दै अध्यक्षमा शेष घलेलाई समर्थन गर्न निर्देशन दिए। सफल अन्तर्राष्ट्रिय व्यवसायी हुनुका साथै राजनीतिक रूपमा तटस्थ रहन सक्ने विश्लेषण गरी घलेलाई समर्थन दिएको तर्क एमाओवादीको छ।
कांग्रेस र एमाओवादीको समर्थन जुटाइसकेपछि घलेलाई अध्यक्ष बनाउने अभियानमा उपेन्द्र महतो र जीवा लामिछाने निर्णायक रूपमा प्रस्तुत भए। अध्यक्षमा घलेलाई समर्थन गर्दै रामेश्वर साह, हितमान गुरुङ र रामप्रताप थापाको उम्मेदवारी फिर्ता गराइयो। आफ्नो जीत सुनिश्चित गरेपछि मात्र ५७ वर्षीय घले श्रीमती जमुनाका साथ मतदातासमक्ष हँसिलो मुद्रामा देखापरे।
सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने परम्परालाई निरन्तरता दिने प्रयास यसपटक पनि अन्तिम क्षणसम्मै गरियो। तर शेर्पालाई अध्यक्ष बनाउने निर्णयबाट एमाले पछि हट्न मानेन भने लामिछानेको सल्लाहमा उम्मेदवार बनेका घलेलाई समर्थन गर्न पूर्वअध्यक्ष देवमान हिराचन तयार थिएनन्। अध्यक्षका तीन प्रत्यसीको समर्थन र दुई ठूला पार्टीको साथले घले निकै अगाडि बढिसकेका थिए।
नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसनजस्ता पेशागत संस्थालाई समेत आफ्नो वशमा हिँडाउन पल्केका राजनीतिक पार्टीहरूले प्रभावशाली बन्दै गएको अन्तर्राष्ट्रिय संस्था एनआरएनमा पकड जमाउन खोज्नु अस्वाभाविक थिएन। सन् २०११ मा एमालेले पार्टी मुख्यालय बल्खुमै आफू समर्थक एनआरएनको भेला गरी तत्कालीन अध्यक्ष देवमान हिराचनलाई पुनः अध्यक्ष बनाउन गरेको निर्णय अन्तिम समयमा फिर्ता लिएपछि लामिछाने सर्वसम्मत बनेको एनआरएनले बिर्सेका थिएनन्। तर त्यो अपेक्षाविपरित यसपटक आफ्नो निर्णयमा अडिएर एमालेले धरैलाई आश्चर्यमा पार्यो।
एनआरएनमा दुई वर्षअघि रोपिएको पार्टी राजनीतिको त्यही बीउ अहिले महतो–लामिछाने समर्थक र हिराचन समर्थक समूहमा संस्थागत भइरहेको छ। पहिलो समूहले कांग्रेस–माओवादी टोपी र दोस्रोले एमालेको टोपी लगाएका छन्। 'विदेशमा बसेर नेपाली पार्टीमा विभाजित हुने होइन, उद्यमशील बन्नुपर्छ' भन्ने मान्यता राख्ने नयाँ अध्यक्ष घलेको पहिलो चुनौती एनआरएनमा एकता कायम गरी काम गर्ने वातावरण निर्माण गर्नु हो।
सहमतिमा नेतृत्व चयन गर्ने एक दशकको परम्परा तोड्दै यसपटक धेरै आकांक्षीको मागअनुसार एनआरएनमा निर्वाचन प्रक्रिया प्रवेश गराइयो। ५० देशबाट काठमाडौंमा भेला भएका एनआरएनले चुनावले सिर्जना गरेको नयाँ परिस्थितिको अनुभूति गर्न पाए। नेतृत्व हत्याउने होड नेपालीका कुनै पनि संगठनमा नयाँ होइन, यसलाई एनआरएनप्रति बढेको आकर्षणको एउटा प्रमाण पनि मान्न सकिन्छ।
अधिवेशनको सुरुमै संस्थापक अध्यक्ष महतोले दाबी गरेझैं स्थापना भएको एक दशकमा एनआरएन अभियानले एउटा सफलता पाएको छ, तर यसप्रतिको विश्वास केही खलबलिएको छ। एक समय एनआरएनले नेपालमा ठूलो लगानी गर्ने हल्ला चलाइयो र त्यो हुन नसक्दा यो संस्थाप्रति वितृष्णा पनि फैलाइयो।
एनआरएन सामूहिक लगानी र एयरलाइन्सबारे विभिन्न प्रश्न नउठेका होइनन्। तर दस वर्षमा केही भएको छ। अस्ट्रेलियाबाट नेपालमा लगानी भिœयाउने घले आफैं एउटा उदाहरण हुन् एनआरएनमा। घलेले सात अर्ब रुपैयाँ लगानीमा काठमाडौंमा अन्तर्राष्ट्रिय चेन होटल सेराटन स्थापना गर्ने प्रक्रिया अगाडि बढाएलगत्तै अरू चार–पाँच वटा अन्तर्राष्ट्रिय होटल नेपाल आउने तयारीमा छन्। नेपालको पर्यटन विकास र रोजगारीको क्षेत्रमा यो लगानीको ठूलो प्रभाव पर्नेछ।
एनआरएन मूलतः विश्वका विभिन्न देशमा व्यावसाय गर्ने नेपालीहरूको संस्था हो। नेपाली नागरिकताको निरन्तरता अहिले उनीहरूको मुख्य मुद्दा हो, जसले एनआरएन मात्र होइन, विदेशमा नेपालको पनि सम्मान बढाउने छ। कूटनीतिक नियोगबाहेक एनआरएनए नै एउटा त्यस्तो अन्तर्राष्ट्रिय संस्था हो, जसमार्फत् नेपालले विदेशमा विभिन्न अभियान चलाउन सक्छ। 'विदेशमा प्रभावकारी आर्थिक कूटनीति सञ्चालनका लागि नियोग प्रमुखको संयोजकत्वमा एनआरएनको प्रतिनिधित्व रहने गरी स्थायी संयन्त्र बनाउने' निर्णय गरेर सरकारले भर्खरै यो संस्थाको महŒव साबित गरेको छ।
२२ वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया पुगेका लमजुङका घले त्यहाँको नागरिक मात्र नभएर धनी व्यापारी पनि बनेको समाचारले नेपाली संसार पिटेको थियो। यस वर्ष पनि अस्ट्रेलियाको बिजनेस रिभ्यु विक्लीले शेष र श्रीमती जमुना घलेलाई धनीको सूचीमा राखेको छ।
तर सम्पत्तिलाई 'केही राम्रो कामको बाइप्रोडक्ट' मात्र ठान्ने घलेको एनआरएनए र नेपालमा महŒव भनेको उनले आर्जेको उद्यमशीलता हो। नेपाल र एनआरएनबीच उनले गर्न सक्ने लगानी उद्यमशीलताको वृद्धि नै हो, जसले अन्ततः मुलुकलाई आर्थिक वृद्धितिर डोर्याउन सहयोग पुर्याउँछ।
उद्यमशीलता विकासको अभियान चलाउँदै एनआरएनएलाई कल्याणकारी संस्थाका रूपमा स्थापित गर्न सके सायद घलेले व्यापारमा जस्तै एनआरएनमा सफल अगुवा बनेको महशुस गर्नेछन्।
नयाँ कार्यसमिति
अध्यक्ष– शेष घले
उपाध्यक्ष– भवन भट्ट र टिबी कार्की
महासचिव– कुमार पन्त
सचिव– रन्जु थापा
कोषाध्यक्ष– बद्री केसी
प्रकाशित: ४ कार्तिक २०७० २१:१९ सोमबार





