राजदरबारनजिकको डाम चोकस्थित १५औं शताब्दिमा निर्मित 'निवे कर्क' चर्चमा गरिएको भव्य समारोहमा विलेमको राज्यारोहण भएको थियो। विलेमको राज्यारोहणअघि दरबारमा रानी बिटि्रक्सले गद्दी त्यागपत्रमा हस्ताक्षर गरेकी थिइन्। ४१ वर्षीया पत्नी म्याक्सिमासहित उपस्थित विलेम र मन्त्रिपरिषदसामु त्यागपत्रमा हस्ताक्षर गर्दा रानी बिटि्रक्सका आँखाबाट आँशु खसेको थियो। ७५ वर्षीया रानी बिटि्रक्स ३३ वर्षयता राजगद्दीमा थिइन्।
निवर्तमान रानी बिटि्रक्ससँगै राजा विलेमकी ९ वर्षीया जेठी छोरी 'प्रिन्सेस अफ अरेन्ज' क्याथरिना एमेलियासहित तीन छोरी राज्यारोहण समारोहमा उपस्थित थिए। विलेम दम्पतीले संसद र चर्चको संयुक्त समारोहमा सपथ लिएका थिए। विलेम दम्पतीले समारोहमा मुकुट भने पहिरिएनन्।
सपथ लिनुअघि विलेमले आमा बिटि्रक्सलाई 'स्नेहमयी आमा' सम्बोधन गर्दै रानीले शासन गरेका असल वर्षहरूका लागि धन्यवाद दिएका थिए। विलेमले आफ्नी आमाका पदचिन्ह पछ्याउने र राजाका कामबारे आफूसँग स्पष्ट मार्गचित्र रहेको भन्दै कसैले पनि भविष्यबारे केही भन्न नसक्ने बताए। राजा विलेमले 'राष्ट्रको स्वतन्त्रता र राज्यको संरक्षण गर्न आफ्नो क्षमताले सकेसम्म गर्ने प्रयासमा इश्वरले मलाई सहायता गरुन्' भन्दै शपथ लिए।
तर विलेमको राज्यारोहण विवादमुक्त भने रहन सकेन। एम्सटरडामका छ ठाउँमा राजतन्त्रविरोधीले प्रदर्शन गरेका थिए। समारोहमा विलेमले पहिरिएको पोशाकमा जनावरको छालासमेत प्रयुक्त भएकाले वन्यजन्तु संरक्षणकर्ताले उनको आलोचना गरेका छन्। तर विलेमले उक्त पोशाक पुरानो भएको र पोशाक तयार पार्न अहिले कुनै जनावर नमारिएको आफ्नो जानकारीमा भएको जनाएका छन्। विलेमको शपथपछि सांसद र सिनेटरले राजासामु सपथ लिएका थिए। तर १६ सांसदले भने यसअघि नै संविधानप्रति शपथ लिइसकेकाले राजासामु शपथ लिन अस्विकार गरेका थिए।
विलेमको राज्यारोहणमा संयुक्त राष्ट्र संघका पूर्वमहासचिव कोफी अन्नान, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक्स रोक, बेलायती राजकुमार चार्ल्स, स्पेनका राजकुमार फिलिपे, जापानका राजकुमार नारुहितोसहित नर्वे, डेनमार्क, स्वीडेन राजकुमार पत्नीसहित उपस्थित थिए।
प्रकाशित: १८ वैशाख २०७० ०२:३० बुधबार





