अर्को अध्ययनमा भने ६० लाख सिरियाली जनताको जीवनयापनको स्थिति दुई वर्षयता विश्वले लगाएको आर्थिक प्रतिबन्ध र द्वन्द्वको नकारात्मक प्रभावका कारण घटेको पाइएको छ। उक्त जानकारी सिरियन सेन्टर फर द पोलिसी रिसर्चेजले दिएको हो। प्रतिवेदनमा द्वन्द्वका कारण कूल क्षति सन् २०१२ मा ४८.४ अर्ब अमेरिकी डलर बराबर भएको र सन् २०१२ मा कूल गार्हस्थ उत्पादन १८.८ प्रतिशतले घटेर २४ अर्ब १० करोड अमेरिकी डलरमा झरेको उल्लेख छ।
यसबीच एपीले राजधानी दमासकसमा मंगलबार भएको शक्तिशाली बम विस्फोटमा १३ जनाको मृत्यु हुनाका साथै ७० जना घाइते भएको उल्लेख गरेको छ। हालसम्म उक्त आक्रमणका लागि कसैले पनि जिम्मेवारी नलिएपनि राष्ट्रपति बसर अल–असदको शासन पतन गराउन विद्रोही लडाकूले आक्रमण गरेको अनुमान छ। सिरियामा हिंसा र द्वन्द्व सुरु भएको दुई वर्ष पुरा भएको छ।
दमासकसका बासिन्दाले शक्तिशाली बम विस्फोटको आवाज सुनिएको र धुवाँको कालो मुस्लो भवन समूहबाट निस्किएको बताए। सिरियन टीभीले दमासकसको व्यापारिक क्षेत्र मारजेहमा आतंकवादीले बम विस्फोट गराएको दाबी गरेको छ। राष्ट्रपति असदको सरकारले विद्रोही लडाकूलाई आतंकवादी भन्ने गरेको छ।
प्रकाशित: १८ वैशाख २०७० ०२:२६ बुधबार





