५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

नासाले सच्यायो सगरमाथाको गलत तस्बिर


काठमाडौ, मंसिर २९ (नागरिक)- विश्वको सर्वोच्च शिखर सगरमाथालाई कसले नचिन्ला र। तर, अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले अन्तरिक्षबाट खिचेको सगरमाथाको भन्दै गलत तस्बिर राखेको थियो। 

नेपाली पत्रकारहरूले सामाजिक सञ्जालमा नासाले वेबसाइटमा सगरमाथाको भन्दै गलत तस्बिर राखेको औंल्याएपछि बिहीबार त्यसलाई सच्चाएको छ।
रुसी अन्तरिक्ष यात्री युरी मलेन्चेङ्कोले अन्तर्राष्ट्रिय अन्तरिक्ष अनुसन्धान केन्द्रबाट कात्तिक २४ गते खिचेका उक्त तस्बिरलाई नासाले सगरमाथाको भनी आफ्नो वेबसाइटमा राखेको थियो। त्यस तस्बिरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि सगरमाथा भन्दै प्रयोग गरेका थिए। टि्वटरमा उक्त तस्बिर व्यापक रूपमा प्रयोग हुन थालेपछि नेपाली ब्लगर उज्ज्वल आचार्यले ट्वीट गर्दै अन्तरिक्षबाट खिचिएको त्यो तस्बिर सगरमाथाको 'हो कि होइन' भन्दै विज्ञहरूसँग सल्लाह मागेका थिए।  
हिमालबारे जानकार पत्रकार कुन्दा दीक्षितले त्यसप्रति शंका व्यक्त गर्दै टि्वटरमै 'सगरमाथा मात्र नभई उक्त हिमाल नेपालमा पनि नपर्ने' भनी लेखेका थिए।
त्यसपछि पत्रकार राजेश केसीले उक्त हिमाल भारत, पाकिस्तान र तिब्बतका सीमानजिकैे कस्मिरस्थित ससेर खाङ्ग्री हिमाल भएको भन्दै ट्वीट गरेका थिए। गुगल अर्थको प्रयोग गरेर उक्त तस्बिरमा देखिएको हिमाल सगरमाथाको नभई सासेर खाङ्ग्री भएकोे दाबी उनले गरेका थिए।
यसै बहसको आधारमा नासाले बिहीबार आफ्नो वेबसाइट अपडेट गर्दै तस्बिर खुम्बु हिमशृंखलामा पर्ने सगरमाथा नभइ भारत प्रशासित कस्मिरको काराकोरम हिमशृंखलाअन्तर्गत पर्ने ससेर मुस्ताख (ससेर खाङ्ग्री) भएको जनाएको छ।
समाचार एजेन्सी एएफपीलाई नासाका प्रवक्ताले इमेल पठाउँदै 'यो (तस्बिर) सगरमाथा होइन, काराकोरम हिमशृंखलामा पर्ने भारत कस्मिरस्थित 'ससेर मुस्ताख (ससेर खाङ्ग्री)' हिमाल हो,' भनी जानकारी गराएका छन्।
सगरमाथाको भन्दै अर्को तस्बिर कसरी पर्न गयो भनेर केही जानकारी नगराइएको छैन। अन्तर्राष्ट्रिय अन्तरिक्ष अनुसन्धान केन्द्र अमेरिका, रुस, जापान, क्यानडा तथा युरोपको संयुक्त परियोजना हो।
८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथाको पृथ्वीको कक्षबाट फोटो खिच्ने लालसा सबै अन्तरिक्षयात्रीको हुने गरेको अन्तरिक्षयात्री रोन गारनले द एट्लान्टिकलाई बताएका छन्।
पृथ्वीबाट ३ सय ७० किलोमिटरमाथि अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष अनुसन्धान केन्द्रबाट धर्तीमा रहेको कुनै वस्तु पत्ता लगाएर त्यसका तस्वीर खिच्नु दुर्लभ काम हो।
उनले टि्वटरमा ६ महिना अन्तरिक्ष केन्द्रमा बसेर आफूले धेरैपटक कोसिस गर्दा सगरमाथाको तस्बिर लिन नसकेको भन्दै त्यसप्रति खिन्नता प्रकट गरेका छन्।
उनले भनेका छन्, 'सामान्यत्क पृथ्वीको तस्बिर खिच्ने काम अन्तरिक्ष यात्रीको होइन, फुर्सदको सयममा फोटो खिच्ने हो। फोटो खिच्नुअघि त्यसैले अन्तरिक्षयान कुन स्थान पुगेको भनेर पत्ता लगाउनुपर्ने हुन्छ।' क्यामेरा र त्यो खिच्ने स्थानमा कहिलेकाही प्राप्त गर्न नसकिने उनले बताएका छन्। ' तस्बिर खिच्ने खोजेको स्थानको मौसम सफा हुन आवश्यक छ। तर, मलाई त्यस्तो अवसर कहिल्यै जुटेन।'

प्रकाशित: २८ मंसिर २०६९ २१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App