६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

स्यान्डीका कारण आज हुने चुनावबारे अन्योल

सुरेन्द्र पौडेल, काठमाडौं, कात्तिक १५ - समुद्री आँधी स्यान्डीले न्युयोर्कलगायत अमेरिकाका विभिन्न सहर प्रभावित भएपछि बुधबार हुने भनिएको संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद (इकोसोक) को चुनाव अन्योलमा परेको छ। इकोसोकको ५४ सदस्यीय बोर्डमा सहभागी हुन नेपालले पनि उम्मेदवारी दिएको थियो। इकोसोक सुरक्षा परिषदपछि राष्ट्र संघको दोस्रो महŒवपूर्ण अंग मानिन्छ।

प्रति घन्टा ८५ माइलभन्दा बढी गतिमा अमेरिकाको उत्तरपूर्वी क्षेत्रतर्फ बढेको स्यान्डीले सोमबार र मंगलबार न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालय बन्द भएको थियो। राष्ट्र संघको मुख्यालय बुधबारदेखि खुल्ने जनाइए पनि पूर्वनिर्धारित समयअनुसार इकोसोकको चुनाव हुने/नहुने भन्ने मंगलबारसम्म अन्योल छ।
'समुद्री आँधीका कारण न्युयोर्क प्रभावित भएकाले इकोसोकको चुनावबारे कुनै सूचना आएको छैन,' परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुनबहादुर थापाले नागरिकसँग भने, 'बुधबार राष्ट्रसंघको मुख्यालय खुलेपछि मात्र आधिकारिक सूचना आउने न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ।'

सोमबार राति १३ फिट अग्लो समुद्री आँधीले सहरलाई हानेपछि न्युयोर्क क्षतिग्रस्त भएको छ। स्यान्डी आँधीका कारण आइतबारदेखि मंगलबारसम्म अमेरिकामा १५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य हवाई उडान रद्द भइसकेका छन्, जसमध्ये न्युयोर्कका मात्र झन्डै चार हजार छन्। न्युयोर्कका प्रमुख तीन विमानस्थल बन्द गरिएका छन्।
आँधीले विद्युत आपूर्तिमा अवरोध पुर्‍याएपछि न्युयोर्कमा १७ लाख ८० हजारभन्दा बढीले विद्युत सेवा पाएका छैनन् । विद्युत कटौती भएपछि अस्पतालका बिरामीलाई अन्यत्र सारिएको छ। विद्युत सुचारु हुन साता लाग्ने जनाइएको छ।
न्युयोर्क छिरेको समुद्री आँधीले त्यहाँको 'सब-वे सिस्टम' मा समेत क्षति पुर्‍याएको छ।
'सब-वे चल्न एक साता लाग्ने जनाइएको छ। न्युयोर्कका ४ सय ६८ मेट्रो स्टेसन बन्द गरिएका छन्। आँधीले राष्ट्र संघको मुख्यालय रहेको न्युयोर्क क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले बुधबार मुख्यालय खुले पनि काम हुने/नहुने भन्नेमा द्विविधा छ।
दुई दिन राष्ट्र संघको मुख्यालय बन्द रहेकाले पूर्वनिर्धारित तालिकाअनुसार सोमबार र मंगलबारका काम ठप्प भएका थिए। बुधबार मुख्यालय खुलेर काम सुरु गरिए पनि थाती रहेका सोमबार र मंगलबारका काम हुने वा पूर्वनिर्धारित तालिकाअनुसार बुधबारकै काम हुने भन्ने निर्णय भएको छैन। 'थाती रहेको दुई दिनको काम पहिले गर्ने भन्ने निर्णय भए बुधबार हुने भनिएको चुनाव पछि सर्छ,' थापाले भने।

इकोसोकको चुनावमा नेपालका पक्षमा कूटनीतिक माहोल बनाउन परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई र युएन महाशाखाका प्रमुख दीपक धिताल असोज पहिलो साता न्युयोर्क पुगेका थिए। इकोसोकको बोर्ड सदस्यमा निर्वाचित हुन नेपाललाई राष्ट्र संघका १ सय २८ सदस्य राष्ट्रको मत आवश्यक पर्छ। राष्ट्र संघमा १ सय ९४ सदस्य राष्ट्र छन्।
राष्ट्र संघको १४ विशिष्ट एजेन्सी, पाँच क्षेत्रीय आयोजनाको सामाजिक तथा आर्थिक कार्यको संयोजन जिम्मेवारी इकोसोकले सम्हाल्दै आएको छ। दिगो विकास, सहस्राब्दी विकास लक्ष्यलगायत कार्यक्रमसमेत इकोसोकले हेर्छ।
इकोसोकमा राष्ट्र संघका सबै सदस्य राष्ट्र सदस्य रहने भए पनि बोर्डमा ५४ जनामात्र सदस्य रहने प्रावधान छ। राष्ट्र संघको प्रावधानअनुसार इकोसोकमा अफ्रिकाबाट १४, एसियाबाट ११, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिकी तथा क्यारेबियन मुलुकबाट १० र पश्चिम युरोप तथा अन्य मुलुकबाट १३ गरी ५४ सदस्य इकोसोकमा रहन्छन्।
बुधबार हुने भनिएको चुनावमा एसियाले पाउने ११ सिटमध्ये खाली चार सिटमा नेपाल, कुवेत, किर्गिज रिपब्लिक, तुर्किमेनिस्तान र साउदी अरब गरी पाँच देशले उम्मेदवारी दिएका छन् ।

प्रकाशित: १५ कार्तिक २०६९ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App