यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा ‘हेबीवेट’ नेतामध्ये नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्र नं. ४ बाट मनोनयन दर्ता गर्दैछन्। उनी क्षेत्र नं. ४ बाट यसअघि दुई पटक विजयी भएका थिए। उनीसँग प्रतिस्पर्धा गर्न एमालेबाट केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज जगदीश कुसियतले मनोनयन दर्ता गदै छन्।
यस्तै, सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मनोनयन दर्ता गर्दैछन्। साम्पाङ क्षेत्र नं. १ मा काँग्रेसका तर्फबाट सुजेन्द्र तामाङ, एमालेका तर्फबाट टीका माङ्ग्ले लिम्बु, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट सूर्यबहादुर भट्टराई, रास्वपाबाट गोमा (सरिन) तामाङ, राष्ट्रिय परिवर्तन इन्द्रहाङ् किराँती लगायतले मनोनयन दर्ता गर्दैछन् ।
सुनसरी क्षेत्र नं. २ बाट काँग्रेसका तर्फबाट राजीव कोइराला, एमालेका तर्फबाट रेवती रमण भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट रामकुमारी चौधरी, रास्वपाका तर्फबाट लालविक्रम थापा, उज्यालो पार्टीका तर्फबाट गोपाल तामाङ लगायतले मनोनयन दर्ता गर्दैछन्।
क्षेत्र नं. २ मा मनोनयन गर्ने कोइराला काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् । एमालेका भण्डारी निवर्तमान कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्। यस्तै, चौधरी संविधानसभा सदस्य हुन भने रास्वपाका थापा अघिल्लो पटकको निर्वाचनमा एमालेका भीम आचार्यसँग पराजित भएका थिए। उज्यालो पार्टीका तामाङ युवाहरूमाझ परिचित छन्।
यस्तै, क्षेत्र नं. ३ बाट एमालेबाट भगवती चौधरी, काँग्रेसका वेदनारायण गच्छदार, रास्वपाबाट अशोक चौधरी, नेपाल कम्युनिस्ट पार्टीका केशव विष्टलगायतले उम्मेदवारी मनोनयन दर्ता गदै छन्। क्षेत्र नं. ३ मा काँग्रेस नेता विजयकुमार गच्छदार र उनका भतिजा वेदबिच तीव्र टिकटका लागि दाबी हुँदा अन्तिम समयमा वेदले पाएका हुन्। उनी दुहवीका नगर प्रमुख हुन्। एमालेबाट भगवतीले २०७९ सालमा विजयलाई हराएकी थिइन्। रास्वपाका अशोक निवर्तमान सङ्घीय सांसद हुन् भने केशव राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव हुन्।
प्रकाशित: ६ माघ २०८२ ११:२८ मंगलबार





-600x400.jpg)