३० पुस २०८२ बुधबार
image/svg+xml
प्रवास

थोरै माओ, धेरै देङ

पूर्ण बस्नेत, हङकङ, कात्तिक १५ -चीनमा चाँडै हुने नेतृत्व परिवर्तन विश्व शक्तिको रणनीतिक अवसर नियन्त्रणमा राख्न सार्थक हुने विश्वास चिनियाँ शीर्ष नेताहरूले गरेका छन्। नयाँ नेतृत्व त्यसका लागि राजनीतिक-आर्थिक पुनर्संरचनामा जाने संकेत देखिएको छ। कट्टर माओवादी धारलाई किनारा लगाउन बेइजिङका बलिया दुई गुटमा देखिएको एकतालाई सुधारको गन्तव्य सुरक्षित गर्ने प्रयास ठानिएको छ। अर्को साता बोइजिङमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले जियाङ जेमिन र हु जिन्ताओले अगाडि बढाएको देङ सियाओपिङको सुधारवादी नीति अझै व्यावहारिक रूपमा लागू गर्ने दायित्व सी. जिन्पिङको काँधमा सुम्पँदैछ।

१० वर्षपछि नेतृत्व परिवर्तनका लागि सत्तारुढ कम्युनिस्ट पार्टीले १८ औँ राष्ट्रिय महाधिवेशन घोषणा गरेसँगै चीनको राजनीतिक भविष्यबारे अन्तर्राष्ट्रिय बहस तीव्र भएको हो। बेइजिङका तीन शक्तिशाली नेता- पूर्वराष्ट्रपति जियाङ जेमिन, राष्ट्रपति हु जिन्ताओ र उनको उत्तराधिकारी लिने तयारीमा रहेका सी. जिन्पिङ सहमतिमा नयाँ नेतृत्व र राजनीतिक-आर्थिक एजेन्डा तय गर्ने प्रयासमा छन्। महाधिवेशनबाट उपराष्ट्रपति सी. जिन्पिङ पार्टीको सर्वोच्च पद महासचिवमा चुनिँदै छन् जो तीन महिनापछि हुने चिनियाँ जनकंग्रेसको वार्षिक सभाबाट राष्ट्रपति हुनेछन्। उपप्रधानमन्त्री ली. कसियाङ प्रधानमन्त्री वेन जियाबाओको उत्तराधिकारी लिने तयारीमा छन्।
नयाँ नेतृत्वअन्तर्गत अर्को दशक पनि चीन राजनीतिक सुधारकै बाटोबाट अगाडि बढ्ने प्रस्ट संकेत चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य वैचारिक पत्रिका 'सेकिङ ट्र्युथ' ले गरेको छ। महाधिवेशनको केही साताअघि प्रकाशित 'सुधार र खुलापनका साथ अगाडि बढ्न कुनै कसर बाँकी नराखौँ' शीर्षकको लामो लेखमा पत्रिकाले राजनीतिक सुधारका लागि अपिल गर्दै अहिलेको अवस्थाबाट पछाडि फर्किए कम्युनिस्ट व्यवस्था 'मृत अन्त्य' तर्फ उन्मुख हुने चेतावनी दिएको छ। 'राजनीतिक प्रणालीको पुनर्संरचना तथा समाजवादी लोकतन्त्रको विकाससहित अगाडि बढ्न' दबाब दिन पत्रिकाले सरकारलाई सुझाव दिएको छ।
सेकिङ ट्र्युथको लेखमा भनिएको छ- ३० वर्षमा हाम्रो देश तीव्र विकास हुनुको कारण सुधार र खुलापनको नीति थियो, हाम्रो भविष्य यसैमा आधारित भएर निरन्तर अगाडि बढ्छ। लेखमा राजनीतिक प्रणालीसहित अर्थव्यवस्था, संस्कृति, भूमिको बिक्री, शहरी योजना, कर नीति, सामाजिक कल्याण, प्रशासन तथा सार्वजनिक सेवा क्षेत्रको पुनर्संरचनाबारे चर्चा गरिएको छ। नयाँ नेतृत्व र नीति तय गर्न बेइजिङमा जियाङ, हु र सीबीच गोप्य वार्ताहरू चलिरहेका बेला पार्टीले प्रकाशित गरेको यो लेखलाई भविष्यको राजनीतिक दिशाबारे नेतृत्वको शीर्ष तहमा भएको सहमतिको प्रतिबिम्बका रुपमा हेरिएको छ।
सेकिङ ट्र्युथको लेख पार्टी महासचिव तथा राष्ट्रपति हुले तीन महिनाअघि प्रान्तीय प्रमुखहरूलाई सम्बोधन गर्ने क्रममा दिएको मन्तव्यकै सार भएको मानिएको छ, जुन कंग्रेसमा उनको राजनीतिक प्रतिवेदनको रुपमा पुनरावृत्त हुने अनुमान छ। हुलाई उद्धृत गर्दै पार्टी निकट पत्रिका ग्लोबल टाइम्सले लेखेको छ, चीन रणनीतिक अवसरको एक महत्वपूर्ण समयमा छ, थप सुधार र विकासको तागतले मात्र यो अवसरलाई आफ्नो नियन्त्रणमा राख्न सकिन्छ। हुले नागरिकको व्यापक पहुँच हुने लोकतन्त्रको विकास, चुनावको प्रवर्द्धन, सामाजिक न्याय तथा कानुनअनुसार नागरिक स्वतन्त्रताको सुनिश्चिततामा जोड दिएका थिए। पार्टी स्कुलका एक प्रोफेसरले हुको यो सम्बोधन महाधिवेशनमा उनले प्रस्तुत गर्ने राजनीतिक खाका भएको बताएका छन्।
हालैको २४ सदस्यीय पोलिटब्युरो बैठकले माओ विरासतको अन्त्यको संकेत गरी राजनीतिक सुधारप्रति पार्टीको प्रतिबद्धतालाई थप पुष्टि गर्न खोजेको छ। अघिल्लो साता बसेको पोलटब्युरोले केन्द्रीय समितिको विस्तारित बैठक हुँदै पार्टी विधान संशोधनको प्रस्ताव महाधिवशेनमा लैजाने निर्णय गर्यो्। पार्टीले पोलिटब्युरोका निर्णयबारे जानकारी दिन विज्ञप्ति जारी गर्योश जसमा माओको नाम उल्लेख गरिएन। हरेक महत्त्वपूर्ण विज्ञप्तिमा वैचारिक नेताको रुपमा माओको सन्दर्भ उल्लेख गर्ने परम्परा यसपटक तोडिएको घटनालाई माओ विचारधारा हटाएर ठूलो राजनीतिक सुधारमा जाने कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण कदमका रुपमा अर्थ्याइएको छ।
विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई अर्को दशक नेतृत्व गर्ने आकांक्षा बोकेका सी. जिन्पिङ आफैं पनि संरचनात्मक समस्या समाधान गर्न राजनीतिक र आर्थिक सुधारको नीतिलाई व्यावहारिक बनाउने प्रयासमा छन्। पूर्व राष्ट्रपति जियाङको साथमा सीको एउटा टिमले 'एक पार्टी शासन'अर्न्तगत थप उदारवादी आर्थिक व्यवस्थासहित कसरी राजनीतिक सुधार गर्न सकिन्छ भनेर सिंगापुरको मोडल अध्ययन गरिरहेको रिपोर्ट आएको छ। सीले नेतृत्व लिएपछि 'राजनीतिक प्रणालीमा सुधारका लागि व्यावहारिक कार्ययोजना' ल्याउने तयारी भइरहेको उनका निकटवर्तीहरूले दाबी गरेका छन् जसमा अर्थतन्त्रलाई अझै उदारवादी बनाउन व्यक्ति तथा निजी कम्पनीहरूलाई अत्यधिक स्वायत्तता दिन, गाउँमा हुने चुनावलाई शहर र त्यसभन्दा माथिल्लो तहसम्म विस्तार गर्न तथा बढी स्वतन्त्र न्यायपालिकाको निर्माण गर्न प्रस्ताव गरिएको छ।
नयाँ चीन कट्टर माओवादी धारमा हिँड्न नसक्ने जनाउ नेतृत्वले छोङकिङ नगरका पार्टी प्रमुख तथा पोलिटब्युरो सदस्य बो सिलाईलाई निष्कासन गरेर दिइसकेको थियो। माओकालीन 'सांस्कृतिक क्रान्ति' लाई ब्युँताउन खोज्ने बो पार्टीबाट निष्कासित हुनुअघि महाधिवशेनबाट आउने नयाँ नेतृत्वले राजनीतिक सुधार वा कट्टर माओवादीमध्ये कुन बाटो समात्छ भन्ने त्यत्ति प्रस्ट थिएन। सिंगापुरस्थित नेसनल युनिभर्सिटीका इस्ट एसिया इन्स्टिच्युट प्रमुख झेङ योङनिनको टिप्पणी दह्रो छ- अब चिनियाँ कम्युनिस्ट पार्टी थोरै माओवादी, धेरै देङवादी हुनेछ।
पार्टीका प्रभावशाली पोलिटब्युरो सदस्य बोमाथि अनुशासनको सामान्य कारबाहीमात्र हुने धेरैको अनुमान थियो। तर छोङकिङ नगरमा पार्टी सचिव रहेका बेला श्रीमती गु काइलाईले गरेको ब्रिटिस व्यापारी नील हेउडको हत्या अपराध ढाकछोप वा प्रहरी अनुसन्धान प्रभावित गरेको, शक्ति दुरुपयोग, भ्रष्टाचार, पार्टी अनुशासन उल्लंघन, धेरै महिलासँग यौन सम्बन्ध राखेको लगायत अभियोगमा बोमाथि कारबाही चलाइएको छ। 'सांस्कृतिक क्रान्ति' को अन्त्यतिर 'ग्याङ अफ फोर' का सदस्यमाथि गरिएको कारबाहीपछिकै ठूलो आपराधिक अभियोग लागेकाले बोलाई २० वर्ष जेल पठाइने वा श्रीमतीलाई झैं 'सस्पेन्डेड मृत्युदण्ड' सजाय हुनसक्ने अनुमान छ।
बो राजनीतिक सुधारविरोधी खेमाका एक चामत्कारिक प्रतिनिधि मानिन्थे। माओको ५० वर्ष पुरानो 'सांस्कृतिक क्रान्ति' ब्युँताएर उग्र वामपन्थी विचार पुनर्स्थापित गरी बेइजिङको केन्द्रीय सत्तामा हावी हुने उनको आकांक्षा पूरा हुन पाएन। तर छोङकिङ विकास मोडलका कारण चर्चाको शिखरमा पुगेका बोलाई चीनका कट्टर माओवादी र उग्र राष्ट्रवादीहरूको समर्थन छ। 'इस्ट चाइना सी' का केही टापुमाथि जापानसँग विवाद बढेपछि चीनमा माओको पोस्टर बोकेर जापानविरोधी प्रदर्शन गर्ने एउटा समूह देखियो जसले बोजस्ता चामत्कारिक र बलियो नेताले मात्र राष्ट्रियताको एजेन्डामा दह्रो निर्णय लिन सक्ने संकेत दिन खोजेको थियो। यो घटनाले सतर्क बनेको सुधारवादी खेमा बोमाथि सार्वजनिक अपराधको अभियोगमा कारबाही गर्ने निर्णयमा एक ठाउँमा उभियो जसले महाधिवेशनको मुखैमा पार्टीमा एकताको सन्देश दियो। नेतृत्व परिवर्तनका क्रममा पार्टी एकताका लागि यसलाई परीक्षणका रूपमा हेरिएको छ, न कि विभाजन।
देङको सुधार तथा खुलापनको नीतिले ३० वर्षमा चीनलाई दोस्रो आर्थिक शक्तिको सफलतामा पुर्या यो, तर यसले समाजमा धेरै समस्या पनि सिर्जना गरेको छ भन्ने पाठ बो प्रकरणले देखाएको छ। यो प्रकरणले चीनमा ठूलो वैचारिक बहसमात्र सिर्जना गरेन, सत्ता सञ्चालनको नीतिगत विवाद र सामाजिक-राजनीतिक असन्तुष्टि पनि उजागर गरेको छ। चीनको अहिलेको प्रमुख समस्या बोले अगाडि बढाउन खोजेको नयाँ माओवाद होइन, शक्तिको दुरुपयोग गरी सम्पत्ति आर्जन गर्न खोज्ने पार्टी नेता र कार्यकर्ता हुन् भन्ने मत पनि कम बलियो छैन।
सन् २००२ मा हुले सत्ता सम्हाल्दा राजनीतिक सुधार र आर्थिक उदारवादले फड्को मार्ने अपेक्षा गरिएको थियो, तर त्यो त्यति सार्थक भएन। सीले स्थिरतालाई पहिलो महत्त्व दिने संकेत गरेका छन् जसअनुसार उनले हुको राजनीतिक विरासत नमेटिने गरी कदम चाल्ने र बिस्तारै सुधार अगाडि बढाउने अनुमान धेरैले गरेका छन्। राजनीतिक सुधार चीनको एक दलीय शासनका लागि ठूलै चुनौती हुने अड्कल पनि गरिँदैछ, तर त्यसमा नजाँदा झन् बढी चुनौती सामना गर्नुपर्ने भएकाले व्यावहारिक उपायहरूको खोजी भइरहेको भान हुन्छ। सम्भवत आफ्नो शासन बलियो बनाउन पनि नयाँ नेतृत्वले सार्थक सुधारमा जानुबाहेक विकल्प देखेको छैन।

प्रकाशित: १५ कार्तिक २०६९ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App