११ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

इराकमा कामचलाउ सरकारको अन्त्य गरी नयाँ सरकार बनाउन सहमति

बग्दाद, कात्तिक २५ (एजेन्सी)- कामचलाउ सरकारको विश्व कीर्तिमान कायम गरेको इराकमा नयाँ सरकार गठनका लागि महत्त्वपूर्ण सहमति भएको छ। सहमतिपछि अब इराकी संसदको बैठक बस्ने तयारी भइरहेको छ।

गत मार्च महिनामा निर्वाचन भएदेखि राजनीतिक गतिरोधका कारण त्यहाँ नयाँ सरकार गठन हुन नसकेको मात्र हैन, संसदको बैठकसमेत बस्न सकेको छैन।

इराकी सांसदहरुलाई उदधृत गर्दै बीबीसीले जनाए अनुसार पूर्व प्रधानमन्त्री इयाद आलावीको नेतृत्वमा रहेको सुन्नी गठबन्धनको समर्थन पाएपछि नुरी मलिकी नै प्रधानमन्त्री बन्ने भएका छन्।

  सहमतिमा कुनै एक समूहले शक्तिको दुरुपयोग नगरुन् भन्नाका लागि विभिन्न चेक एन्ड ब्यालेन्सका उपाय अपनाइएको छ।

अमेरिकाले इराकमा भएको यो सहमतिलाई अगाडि बढ्ने एउटा ठूलो कदमका रुपमा स्वागत गरेको छ।

एकपछि अर्को गर्दै ससाना समूहहरुले मलिकीको समर्थन गर्न थालेपछि विपक्षीहरुले पर्दापछाडिबाट छिमेकी देश इरानले महत्त्वपूर्ण खेल खेलेको आरोप लगाएका छन्।

सहमति अनुसार मलिकी प्रधानमन्त्री बन्ने र आलावीको गठबन्धनले संसदको सभामुख, परराष्ट्र मन्त्रालय र रणनैतिक नीति बनाउने राष्ट्रिय परिषद्को अध्यक्ष पाउने छ।

राष्ट्रपति पद भने वर्तमान कुर्दिस नेता जलाल तालाबानीले पाउने बताइएको छ।

संसदको बैठक बसेपछि सुरुमा सभामुख र उपसभामुख चुनिने छन्। त्यसपछि राष्ट्रपतिको निर्वाचन हुनेछ। त्यसपछि राष्ट्रपतिले सरकार गठन गर्न संसदमा बहुमत प्राप्त गठबन्धनको नेतालाई आह्वान गर्नेछन्।

प्रकाशित: २५ कार्तिक २०६७ ००:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App