१ असार २०८२ आइतबार
image/svg+xml
प्रवास

लगानीमैत्री वातावरण बनाइदिन सरकारलाई एनआरएनए अध्यक्ष केसीको आग्रह

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा अध्यक्ष केसीले नेपालमा लगानी गर्ने सहज वातावरण अझै पनि नभएको बताए । नेपालको आर्थिक समृद्धिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण तयार गराउन सरकारसँग उनको आग्रह थियो ।  

“समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छौं । तर हाम्रा माग सम्बोधन गर्न राज्य तयार हुनुपर्छ”, उनले भने, “आर्थिक राजनीति र सामाजिक अधिकारका लागि हामीले उठाएका माग पूरा गर्न राज्यले सहयोग गरोस् । लगानीमैत्री वातावरण बनाएमा गैरआवासीय नेपालीले स्वदेशमा लगानी गरेर रोजगारी वृद्धि तथा आर्थिक विकासमा सहयोग गर्नेछन् ।”  

गैरआवासीय सबै नेपालीलाई छिटो र सहज रूपमा नागरिकता उपलब्ध गराउने वातावरण तय गर्नका लागि पनि केसीले सरकारसँग माग गरे ।  

सङ्घका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीले मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान गर्दै आइरहेका भन्दै एनआरएनएमा देखिएका विविध चुनौतीहरू समाधान भएमा अझै योगदान बढ्ने बताइन् ।  

“हामीले उठाएका मागहरू अझै पनि छायामा छन् । ती माग (एजेण्डा) कार्यान्वयनका लागि सङ्घका तर्फबाट म सरकारसँग आग्रह गर्दछु । आर्थिक विकासमा देखिएका चुनौतीसहित अन्य विषयमा ग्लोबल कन्क्लेभमा छलफल गर्ने छौँ”, उनले भनिन् ।  

उपाध्यक्ष टिबी कार्कीले एनआरएनएमा पराजित समूहले अनावश्यक विरोध गर्दा समस्या पैदा भइरहेको बताए । 

प्रकाशित: ३१ वैशाख २०८२ १७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App