३० माघ २०८१ बुधबार
image/svg+xml
प्रवास

गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिन्छ : परराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी छिन्।

मन्त्री देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग आइतबार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै गैरआवासीय नेपाली नागरिकता दिएकाहरूलाई १० वर्षे भिसा प्रणाली अस्थाई प्रबन्ध नभएको बताउँदै संसदमा प्रस्तुत हुने प्रतिस्थापन विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी हुन्। 

उक्त भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले एनआरएनए ऐनलाई छिट्टै संसदमा लैजान अनुरोध समेत गरे। सो क्रममा परराष्ट्रमन्त्रीले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखा परेको विवादका सम्बन्धमा मन्त्रालयले कानूनी माध्यमबाट निकास दिने बताइन्।

उनले सर्वोच्च अदालतले दिएका दुवै फैसलालाई आधार बनाएर महान्यायाधिवक्ताको सुझावका आधारमा मन्त्रालयले संघको विवादमा निकास निकाल्ने बताइन्।  

अध्यक्ष डा. केसीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले मन्त्री देउवालाई गैरआवासीय नेपाली संघको थाइल्याण्डमा हुने युवा सम्मेलन र कम्बोडियामा हुने क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रूप सहभागी हुन पनि निमन्त्रणा दिएको छ। मन्त्री देउवाले गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेर सबै पक्षलाई मन्त्रालयमा बोलाएर अनौपचारिक बैठकमार्फत समस्याको समाधान खोज्ने जिकिर गरेकी छिन्।

प्रतिनिधि मण्डलमा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र एशिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई सहभागी थिए।

प्रकाशित: २१ माघ २०८१ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App