१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
प्रवास

बेलायतबाट रविलाई रिहा गरी धनराजलाई कारबाही गर्न माग

बेलायतबाट सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तत्काल रिहाईको माग गरिएको छ।

बेलायतस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभागले सोमबार लण्डनस्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा राजनीतिक प्रतिशोधको आधारमा गरिएको राज्य आतंक बन्द गरी निर्दोष रास्वपा नेता रवि लामिछानेलाई तत्काल रिहा गर्न माग गरिएको हो।

विभाग प्रमुख पवन शर्माको नेतृत्वमा लण्डनस्थित नेपाली दूतावास पुगेको टोलीले कार्यवाहक राजदूत विपिन दवाडीलाई ७ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्रमा सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन अनुसार वास्तविक ठगीमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न र जनताको रकम फिर्ता दिलाउनु पर्ने दायित्वबाट विमुख भई रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा लिएको घटनाको भर्त्सना गरिएको छ।’

ज्ञापनपत्रमा ८७ अर्ब भन्दा बढी रकमको सहकारी अपचलन तथा मिटरब्याजीहरुको छानबिन गरि कानूनी कारबाही गर्न, सहकारी पीडित र मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा हेल्पडेस्क स्थापना गर्न आग्रह गरिएको छ।’

विभागले सहकारी ठगीमा संलग्न धनराज गुरुङ र ऋषिकेश पोखरेल लगायतलाई हदैसम्मको कारबाही गरि पीडितको रकम फिर्ता गर्न माग गरेको छ। साथै बाँसबारी जग्गा, टिकापुर जग्गा र ललितानिवास प्रकरणका दोषी उपर निष्पक्ष छानबिन, भुटानी शरणार्थी काण्डको छानबिन र सत्तासीन दल नेकपा एमाले तथा व्यापारी मीन बहादुर गुरुङ बीचको भ्रष्टाचारको छानबिन गर्न पनि माग गरिएको छ।

विभागले २०४६ साल पछिका सम्पूर्ण भ्रष्टाचारजन्य अपराधको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरी दोषिलाई कारबाही गर्न माग गरेको छ। सरकारले विभागको मागको विषयमा आवश्यक कदम नचालेमा सरकारविरोधी सघन आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

ज्ञापनपत्र बुझाउनका लागि वेलायतस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु नेपाली दूतावास पुगेका थिए।

प्रकाशित: १३ कार्तिक २०८१ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App