१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

शंकरलाई वर्षमानको प्रश्न- रेखा शर्मासँग चुनाव हार्नेले पुष्पकमल दाहाललाई हरुवा भन्ने ?

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेकपा (एमाले) महासचिव शंकर पोखरेलले आफ्नो अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरी हरुवाहरूले सरकार चलाउने युगको अन्त्य भएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  

रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले पोखरेलको भनाइप्रति आपत्ति जनाएका हुन् । उनले आफ्ना नेता रेखा शर्मासँग २०७९ को आमनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. २ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित दाहाललाई हरुवा भनेकोमा आश्चर्य प्रकट गरे ।

‘हाम्रो अध्यक्ष प्रचण्ड ०६४ यताको कुनै पनि निर्वाचनमा पराजित हुनुभएको छैन । १८ महिनासम्म संसद्‌मा बहुमत जुटाएर सरकार चलाएको हो’, पुनले भने, ‘शंकरजी अस्ति भर्खरै हाम्रो पार्टीको नेता रेखा शर्माजीसँग हार्नुभएको सबैलाई थाहा छ ।’  

पुनले पोखरेलले २०७० सालमा देशैभर कांग्रेस र एमालेले जितेको र एमालेको पक्षमा उभार भएका बेला पनि गृहजिल्लामा चुनाव हारेको चर्चा गर्दै ‘हरुवा’ ले लाजै पचाएर अरुलाई हरुवा भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे । पुनले भने, ‘२०७० मा देशेभर एमालेको पक्षमा उभार हुँदा पनि आफ्नै जिल्लामा हार्ने शंकरजी होइन ? ०७९ मा हारेको अस्त भर्खर होइन ?’, उनले भने, ‘अनि उहाँ नै हरुवाहरूले सरकार चलाएर हैरान पारे । हरुवाले सरकार चलाउने युगको अन्त्य गर्छौँ । मानिसहरू जो पनि बोल्न सक्दा रहेछन् । कस्तो लाज नभएको ?’

पोखरेलले कांग्रेस र एमाले मिलेपछि प्रगतिशील र कम्युनिष्ट विचारधाराका दलहरूलाई सकाउन सकिन्छ भन्दै दुईदलीय व्यवस्थाको वकालत गर्दै हिँडेकामा पनि उनले टिप्पणी गरे । ‘खासमा उहाँले कांग्रेस–एमालेको दुईदलीय व्यवस्थाको होइन । कांग्रेस–एमाले पुँजीपति वर्गको पार्टी हो भन्न खोज्नुएको हो’, पुनले भने, ‘जनताको पार्टी हाम्रो हो ।’  

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा एमाले महासचिव पोखरेलले हरुवाहरुले शासन गर्ने व्यवस्थाको अन्त्यका लागि संसद्का दुई दल मिलेको अभिव्यक्ति दिएका थिए ।  

उनले २०८४ सम्म आफ्नो दलले सरकार ढाल्ने प्रयास नगर्ने भन्दै त्यतिबेलासम्म टिकाएर देखाउन कांग्रेस–एमालेलाई चुनौती दिए । कांग्रेस महामन्त्री गगन थापाले सातामा एकपटक प्रधानमन्त्री बनिदिन आफ्ना सभापति शेरबहादुर देउवालाई खबर पठाउने गरेको भन्दै गलत अफवाह फैलाएको उनको भनाइ थियो ।  

आफ्ना अध्यक्ष दाहालको सरकारले भ्रष्टाचार, तस्करी र राज्य दोहनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँदा कांग्रेस–एमाले अत्तालिएर मिलेको आरोप लगाउँदै पुनले २०८४ को निर्वाचनमा जनताले त्यसको हिसाब गर्ने चेतावनी दिए । सरकारले हालसम्म दलाल, बिचौलिया र तस्करहरुको स्वार्थमा काम गरेको उनको टिप्पणी थियो । आफूले प्रधानमन्त्री केपी ओलीले भनेका व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नगर्दा सरकार ढालिएको भन्दै उनले बिचौलियाको डिजाइनमा तिनै व्यक्तिलाई नियुक्त गरेर सरकारले आफूहरुले भन्दै आएको आरोप पुष्टि गरेको पुनको भनाइ थियो ।

मानव तस्करीमा मुछिएका कोशी प्रदेशमा पूर्वमन्त्री एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएर मानव तस्करको योजनामा उनले जापान लिएर गएकाहरुलाई मात्र प्रतिवादी बनाइनु, सहकारी ठगीमा संलग्न कांग्रेस–एमाले नेतालाई उन्मुक्ति दिइनुले सरकारले बेथिति र भ्रष्टाचारीको संरक्षणमा काम गरिरहेको पुष्टि हुने उनको भनाइ छ ।

प्रकाशित: १६ मंसिर २०८१ १८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App