१९ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

अघि-अघि रवि, पछि-पछि आन्दोलन !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार चितवनको भरतपुरमा प्रदर्शन गर्दैछ । उसले त्यसलाई पनि सदाको प्रदर्शनलाई झैँ 'प्रतिशोधविरुद्धको आन्दोलन' नै नाम दिएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका पार्टी सभापति रवि लामिछाने चितवन पुर्‍याइएका छन् । त्यसैले रास्वपाले चितवनमै प्रदर्शन गर्न लागेको हो ।

त्यसो त रास्वपाले सभापति लामिछाने जता जता पुर्‍याइन्छन्, त्यता त्यता प्रदर्शन गर्दै आएको छ । गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछानेलाई लगत्तै पोखरा लगिएको थियो ।

रास्वपाले कात्तिक ३ गतेबाट पोखरा साताव्यापी प्रदर्शन गरेको थियो । त्यसपछि सरकारलाई शक्ति देखाउन उसले काठमाडौंमा समेत प्रदर्शन गर्‍यो तर, सोचेजस्तो प्रभावकारी हुन सकेन ।

यसपछि त्यस बीचमा लामिछानेलाई बुटवल लगियो, त्यसबेला रास्वपाले बुटवलमै 'प्रतिशोधविरुद्ध' भनेर प्रदर्शन गरेको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रुकम अपचलनसम्बन्धी सुोधपुछ गर्न बुटवल पुर्‍याइएको थियो ।

त्यसपछि लामिछानेले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबारे बयान दिए । यसपछि उनलाई सोमबार मात्रै चितवन पुर्‍याइएको हो । त्यहाँ उनले साहारा सहकारीको रकम घोटालाबारेको बयान दिनेछन् । 

यहीबेला रास्वपाले त्यहीँ प्रदर्शन गर्न लागेको हो । रास्वपाले चितवनवासीलाई समेत गुहारेको छ । त्यहीँका सांसद हरि ढकालले 'चितवनवासीलाई हार्दिक अनुरोध गर्दछु' भन्दै प्रदर्शनको पोस्टर साझेदारी गरेका छन् ।

यस बीचमा भने रास्वपाले प्रदर्शन गरेन । स्थानीय तह उपनिर्वाचन भएकाले उसले प्रदर्शनलाई थाँती राखेको थियो । तर, उपनिर्वाचन सकिएसँगै उसले फेरि प्रदर्शन सम्झेको छ । 

प्रकाशित: १८ मंसिर २०८१ २०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App