२० मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार फ्याटफ्याट पराजित

२०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनमा ठूला दलका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पार्दै धरान उपमहानगरपालिका प्रमुख निर्वाचित भएका हर्क साम्पाङ धरानमा मात्रै रहँदैनन् ।

ठूलो राजनीतिक आकाङ्क्षा बोकेका हर्क त्यसयताका हरेक उपनिर्वाचनमा सक्रिय छन्, उनले कुनै न कुनै स्वतन्त्र उम्मेदवारका लागि मत नै मागिदिने गरेका छन्, त्यो पनि सम्बन्धित क्षेत्रमै गएर !

२०८१ वैशाख १५ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र सांसद डकेन्द्रसिं थेगिमका लागि मत माग्न हर्क इलाम नै पुगेका थिए । 'पार्टीले जित्ने तर, जनताले हार्ने' चलन नचल्ने भन्दै मत मागिदिएका डकेन्द्र पछि पराजित हुन पुगे ।

डकेन्द्रले ११ हजार ४५७ पाउँदा त्यहाँ विजयी सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याएका थिए । अर्थात् डकेन्द्र झन्डै तेब्बर मतान्तरले पराजित भए । 

हर्क साम्पाङ र डकेन्द्रसिं थेगिम ।

यसपटक पनि त्यस्तै भयो । गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचमा कीर्तिपुर नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान मानवलाई हर्कले समर्थन गरेका थिए ।

हर्क दुई दुईपटक कीर्तिपुर आएर मानवका लागि मत मागिदिए । तर, पछि मानव पराजित हुन पुगे । उनी बल्लतल्ल दुई हजार ३६ मत पाएर चौथो भए । जबकि, त्यहाँ निर्वाचित नेपाली कांग्रेसका कृष्णमान डंगोलले पाँच हजार ३३४ मत प्राप्त गरे ।

हर्क साम्पाङ र राजमान मानव ।

यसरी हर्कले समर्थन गरेका उम्मेदवारहरू जितेका छैनन्, उनले जसलाई समर्थन गरेका छन्,  फ्याटफ्याट पराजित भएका छन् । त्यसो त स्थानीय सरकार प्रमुखले कसैका लागि मत माग्दै हिँड्नु अथवा घरदैलो कार्यक्रमै सरिक हुनु संवैधानिक तथा अभ्यासका हिसाबले राम्रो होइन । तर, हर्क मनमौजी छन्, उनलाई जे मन लाग्यो, त्यही गर्छन् । 

अनुकूलता हेरेर ०८४ को निर्वाचनसम्ममा पार्टी खोल्ने मौका हेरिरहेका हर्कले उपनिर्वाचनहरूमा विभिन्न स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेर त्यहाँको जनमत बुझ्न खोजिरहेका छन् । तर, उनले समर्थन गरेका उम्मेदवारहरूले भने जितेका छैनन् । यद्यपि, सम्मानजनक मत भने पाएको देखिन्छ ।

किन यस्तो भयो ? यसबारे हर्क भन्छन्, 'निर्वाचनमा कोही न कोही पहिलो हुन्छ नै, मैले देखाएको व्यक्ति (उम्मेदवार) लाई जनताले पहिलो बनाएनन्, दुखेसो छैन । चुनिएका व्यक्तिले अब काम गरेर देखाउँछन् कि गुमनाम रहन्छन्, हेर्नु छ ।'

त्यसो त हर्कको दाबी छ कि इलाममा डकेन्द्रले र कीर्तिपुरमा मानवले प्राप्त गरेको मत उनी आफैँले 'जगाएका' हुन् । 'जनताले जे चाहे, त्यही हुनेछ । तर, पनि कीर्तिपुरमा दुई हजार जना जनतालाई जगाउन म सफल भएकै हुँ,' उनले भने, 'इलाम पनि त्यही हो ।'

प्रकाशित: १८ मंसिर २०८१ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App