२० मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

लगानी भित्र्याउन निजी क्षेत्रलाई स्वागत गर्नुपर्छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विदेशी, एनआरएन, र स्वदेशी लगानी भित्र्याउन निजी क्षेत्रलाई राज्यले स्वागत गर्नुपर्ने बताएका छन्। उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्न राज्यले ‘रातो कार्पेट’ ओछ्याउनुपर्ने आवश्यकता औंल्याए।

१५औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले लुम्बिनी क्षेत्रको पर्यटन विकास सोचेअनुरूप गर्न नसकिएको स्वीकार गरे। उनले तीनै तहका सरकारले एकीकृत रूपमा काम गरे मात्र लुम्बिनी क्षेत्रलाई विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताए।

मन्त्री पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई गतिशील बनाउन पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनका अनुसार पर्यटन क्षेत्रको विकासले रोजगारीका अवसर सिर्जना गर्नुका साथै देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ठोस योगदान पुर्‍याउन सक्छ।

कपिलवस्तु महोत्सवले कृषि, पर्यटन, र औद्योगिक विकासमा ठोस योगदान पुर्‍याउने विश्वास मन्त्री पाण्डेले व्यक्त गरे। महोत्सवमा २ लाख दर्शक भित्र्याउँदै करिब १० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव आगामी पुष २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, र ऐतिहासिक स्थलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक अध्यक्ष गणेश क्षेत्रीले व्यक्त गरे।

मन्त्री पाण्डेले तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रतिबद्ध रहेको बताए। उनले तिलौराकोट सिद्धार्थ गौतम बुद्धको क्रीडास्थल भएकोले यसको संरक्षण र प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषमार्फत प्रस्ताव दर्ता भइसकेको जानकारी दिए।

मन्त्री पाण्डेले कांग्रेस र एमालेबीचको गठबन्धन सरकारले राजनीतिक स्थायित्वका लागि काम गरिरहेको बताउँदै आगामी २०८४ सम्म गठबन्धन रहने दाबी गरे। उनले आगामी निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्ने तयारी गर्न कांग्रेसका जनप्रतिनिधिलाई जनताको मन जित्ने काम गर्न निर्देशन दिए।

उनले कपिलवस्तु क्षेत्र छिमेकी जिल्लाका कारण ओझेलमा परेको भन्दै देवदह, लुम्बिनी, र तिलौराकोटलाई एकीकृतरूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सुरक्षित बाटोघाटो र आकाशीय मार्ग निर्माणले मात्र पर्यटन क्षेत्रको पूर्ण विकास सम्भव हुने बताए।

प्रकाशित: १९ मंसिर २०८१ २१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App