नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारी बैठक आह्वान गरेका छन् । उनले बिहीबार बिहान साढे ८ बजे खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बैठकका एजेन्डाहरूमा मंसिर १६ मा सम्पन्न उपनिर्वाचन, पुस २ को केन्द्रीय समिति बैठक, अखिल क्रान्तिकारीको थाँती अधिवेशनगायतका विषय रहेको जानकारी प्राप्त भएको छ ।
त्यसो त भोलिकै बैठकले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष बनाउने चर्चा सुरु भएको छ । उनी गत कात्तिक २६ गते खुमलटारमै बसेको स्थायी समिति बैठकमा सहभागी पनि भएका थिए ।
उक्त बैठकमा बोलाउँदा अध्यक्ष दाहालले उपाध्यक्षको आश्वासन दिएका थिए । त्यसपछि बैठकमा उपस्थित पुनले आफू पार्टीकै मान्छे भएको उल्लेख गर्दै 'मेरो जिम्मेवारी के' भनेर सोधेका थिए ।
एक पदाधिकारीले नागरिकलाई भने, 'उहाँले म पार्टीको मान्छे हुँ कि होइन भन्नुभयो । उहाँले पार्टीले जे जिम्मेवारी दिए पनि म तयार छु पनि भन्नुभयो ।'
जसै बुधबार मात्रै काठमाडौंको एक कार्यक्रममा सहभागी भएका पुनले आफू पुन: रातो मान्छे भएर उभिन तयार रहेको बताए । सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच उनले दिएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
त्यसो भए के भोलिको बैठकले पुनलाई उपाध्यक्ष बनाउँदै छ ? यसबारे जिज्ञासा राख्दा एक पदाधिकारीले भने, 'पदाधिकारीले उपाध्यक्ष बनाउने अधिकार त राख्छ । थप कुरा भोलि नै थाहा होला । उहाँले चाहना राख्नुभएको छ ।'
यो पनि पढ्नुहोस्
दाहालकै चाहनामा सक्रिय राजनीतिमा फर्किँदै पूर्वउपराष्ट्रपति पुन !
माओवादी नेताहरूले पुनले चाहना व्यक्त गरिरहेको बताएका छन् । पार्टी उपमहासचिव मातृका यादवले भने, 'उहाँको चाहना हो । पार्टीले त्यसमा यही जिम्मेवारी दिने भन्नेबारे टुङ्गो लगाइसकेको छैन । टुङ्गो लगाउला ।'
यसपछि पार्टी सचिव गणेश साहलाई पुनलाई भोलि नै उपाध्यक्ष बनाउने हो ? भनेर नागरिकले जिज्ञासा राखेको थियो । सचिव साहले जवाफ थियो, 'भोलि नै बनाउँछ कि बनाउँदैन, थाहा छैन । तर, उहाँले पार्टीमा फर्किने कुरा गर्नुभएको छ ।'
अर्का सचिव दीनानाथ शर्मा पनि त्यही भन्छन् । 'कात्तिक २६ गतेको बैठकमा उहाँको उपस्थिति रहेको थियो । त्यसबेला उहाँले चाहना व्यक्त गर्नुभएको थियो । अब भोलिकै बैठकले के गर्छ थाहा छैन । भोलि नै थाहा होला । तर, भोलिको एजेन्डा अरु नै छ, त्यो छैन ।'
प्रकाशित: १९ मंसिर २०८१ २१:१० बुधबार