१९ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा आपतकालीन ‘सैनिक शासन’ घोषणा

Image Cr: Anthony WALLACE / AFP

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मंगलबार आपतकालीन सैनिक शासन घोषणा गरेका छन्।

संसदमा बजेट विधेयकलाई लिएर जारी गतिरोध र "कम्युनिस्ट शक्तिबाट उत्पन्न खतरा" रोक्न यस्तो कदम उठाउन आवश्यक भएको बताउँदै उनले सैनिक शासन घोषणा गरेका हुन्।

राष्ट्रिय सम्बोधन गर्दै राष्ट्रपति युनले भने, "उत्तर कोरियाका कम्युनिस्ट शक्तिबाट हुने खतराबाट दक्षिण कोरियाको स्वतन्त्र लोकतान्त्रिक व्यवस्था जोगाउन र राज्यविरोधी तत्त्वलाई हटाउन म आपतकालीन सैनिक शासन घोषणा गर्दछु।"

उनले विपक्षी दलमाथि कटाक्ष गर्दै जनताको जीवनलाई बेवास्ता गर्दै "इमपीचमेन्ट, विशेष अनुसन्धान र आफ्नो नेतृत्वलाई न्यायबाट जोगाउन" शासन अवरुद्ध पारिएको आरोप लगाए।

युनले यो कदम आफ्नो पीपल्स पावर पार्टी र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीबीच आउँदो वर्षको बजेट विधेयकलाई लिएर जारी विवादका कारण उठाइएको बताए।

विपक्षी सांसदहरूले गत साता संसदीय समितिमा प्रमुख खर्च कटौतीसहितको बजेट योजना स्वीकृत गरेका थिए। "हाम्रो राष्ट्रिय सभाले अपराधीहरूको सुरक्षित ठिकाना लिने थलो बनेको छ। यो व्यवस्थापिका अधिनायकवादको अखडा हो, जसले न्यायालय र कार्यपालिकालाई पंगु बनाउँदै हाम्रो लोकतान्त्रिक प्रणालीलाई उल्ट्याउन खोजिरहेको छ," युनले आरोप लगाए।

युनले विपक्षी सांसदहरूले सार्वजनिक सुरक्षा र लागूऔषध नियन्त्रणजस्ता महत्त्वपूर्ण बजेटमा कटौती गरी "देशलाई लागूऔषध अपराधको केन्द्र र सार्वजनिक सुरक्षा संकटतर्फ धकेलिएको" दाबी गरे।

उनले विपक्षीलाई "राज्यविरोधी शक्ति" को संज्ञा दिँदै आफ्नो निर्णयलाई "अवश्यंभावी" बताएका छन्। "म राज्यविरोधी शक्तिहरूलाई चाँडै हटाएर देशलाई सामान्य स्थितिमा फर्काउनेछु," युनले जोड दिए।

राष्ट्रपतिको यो कदमले दक्षिण कोरियाको राजनीतिक परिस्थिति थप अस्थिर बनाउने देखिएको छ। विपक्षी दलको बहुमत रहेको ३०० सदस्यीय संसदमा यो निर्णयलाई कस्तो प्रतिक्रिया आउँछ भन्ने प्रतीक्षा छ।

प्रकाशित: १८ मंसिर २०८१ २०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App