नेपाली कांग्रेसका महामन्त्री एवं उपनिर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले गठबन्धन गरेर जितेको २७ सिट भन्दा एक्लै लडेर जितेको १९ सिट कांग्रेसका लागि बढी महत्त्वपूर्ण रहेको बताएका छन् । भर्खरै सम्पन्न उपनिर्वाचन नतिजालाई कांग्रेसले उत्साहपूर्ण रूपमा लिएको भन्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘उपनिर्वाचन परिणामलाई हामीले उत्साहका रूपमा लिएका छौँ । सकारात्मक रूपमा लिएका छौँ,’ महामन्त्री शर्माले भने, ‘यदि गणितीय हिसाबमा जाने हो भने नेपाली काँग्रेसले ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो । अहिले १९ ठाउँमा विजयी भयो । गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ । ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो । त्यसका बाबजुद पनि नेपाली कांग्रेसले तत्कालीन चुनावको परिस्थिति, मनोविज्ञान, त्यस बेलाका समीकरण र अहिलेको परिस्थिति, मनस्थिति र समीकरणलाई हेर्ने हो भने गुणात्मक रूपले यो महत्त्वपूर्ण छ ।
गत निर्वाचनमा गठबन्धनको बलमा लडेको भन्दै शर्माले अगाडि भने, ‘गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरीकन प्राप्त भएको १९ सिट विशेष रूपले महत्त्वपूर्ण छ ।’
महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रस्ताव पारित गरेको बताउँदै यो नतिजाले कांग्रेस एक्लै निर्वाचन लडोस् भन्ने सन्देश दिएको पनि बताए ।
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरूले पाएको मतलाई प्रणालीप्रतिको विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर जनताले राजनीतिक दलहरूलाई घचघच्याएको जनादेशमा रूपमा बुझ्नुपर्ने महामन्त्री शर्माले बताए । यद्यपि कांग्रेस नतिजाबारे थप समीक्षा भने गर्ने उनले बताए ।
प्रकाशित: १९ मंसिर २०८१ ११:५९ बुधबार