२३ भाद्र २०८१ आइतबार
image/svg+xml
प्रवास

अमेरिकामा मञ्चन हुँदै ‘हिटलर आउँदै छ’

निर्देशक विमल सुवेदीको नाटक ‘हिटलर आउँदै छ’ अमेरिकामा मञ्चन हुने भएको छ। निर्देशक सुवेदीको निर्देशन र जोयश पाण्डेको लेखन रहेको ‘हिटलर आउँदैछ’ नाटक आगामी अगस्टको २३ तारिखमा अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा मञ्चन हुन लागेको जानकारी नाटक युनिटले दिएको हो।

‘हिटलर आउँदैछ’ नाटकबाट अभिनेत्री वर्षा राउतले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन्। सो नाटकमा निर्देशक सुवेदीसहित अभिनेत्री राउत र लेखक पाण्डेको पनि मुख्य भूमिका रहनेछ। पत्रकार सम्मेलनमा बोल्दै तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन्। यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए।

कार्यक्रममा विमल सुवेदीले अमेरिकामा नाटक गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताए। उनले भुटानबाट राजनीतिक रूपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको बताए । नाटक ‘हिटलर आउँदैछ’ले मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताए। 

‘म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ,’ उनले भने, ‘यही सिद्धान्तबाट प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौं। यही क्रमको निरन्तरताको रूपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रूपमा लिएका छौँ। यसलाई कोसेढुंगा बनाउन कुनै कसर छाड्ने छैनौं ।’ उनले आफूसँग २० भन्दा बढी देशमा नाटक मञ्चनको अनुभव रहेको बताए।

नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ। हाल रिहर्सल चलिरहेको सो नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको अभिनेत्री राउतले भनिन्। ‘नाटकबाट आएको धेरै कलाकारसँग फिल्ममा काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिलेदेखि नै थियो,’ उनले भने, ‘तर यो अवसर यसरी जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु। मेरा पहिलो नाटक नै नेपालका उत्कृष्ट नाट्य निर्देशक तथा प्रशिक्षक विमल सुवेदीसँग, त्यो पनि अमेरिकाबाट हुनु चानचुने संयोग होइन । साथै नेपालका उत्कृष्ट निर्देशक जोयश पाण्डेसँगसँगै नाट्ययात्रा सुरु गर्नुले मलाई उत्साहित बनाएको छ । यो नाटकबाट धेरै कुरा पाउनेमा म विश्वस्त छु।’

प्रकाशित: ९ श्रावण २०८१ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App