७ पुस २०८१ आइतबार
image/svg+xml
प्रवास

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अस्ट्रेलियावासीको सहयोग

२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी एक करोड ७० लाख रकम सङ्कलन गरेको छ।

गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद ५० लाख र प्रतिवद्धतास्वरूप एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ।

मानवता प्रवर्द्धनको उद्देश्यले आयोजित आमा सेमिनार एवं अन्तरक्रिया कार्यक्रमहरूमा करिब एक हजार पाँच सय जना अष्ट्रेलियावासी नेपाली उदारमनाहरूको सहभागिता रहेको सो संस्थाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

अष्ट्रेलिया अभियानमा १० जना अष्ट्रेलियावासीले मानवसेवा आश्रमको निर्माणाधीन भवनहरूमा एक कोठा निर्माण सहयोगार्थ पाँच लाख ११ हजार एक सय ११ योगदान गरेका छन्।

यसैगरी वार्षिक भोजन सेवा सदस्यता २० जनाले, छ जनाले बालगोपाल बाबुनानीको अभिभावकत्व, चार जनाले आमाबुबाको छोराछोरी बन्ने प्रतिबद्धता गरेका छन् छ भने ९० जनाले आश्रमको आजीवन सहयोगी सदस्यता लिएको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य लिएर सेवामा समर्पित मानवसेवा आश्रमको सेवा प्रवाहमा अष्ट्रेलिया यात्राले थप हौसला प्रदान गरेको संस्थाको संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए।

उनका यसरी नेपाल, कतार, बेलायत र अष्ट्रेलियामा भव्यताको साथ सम्पन्न भएको मानवसेवा आश्रमको कार्यक्रम आगामी मे ५ तारिखमा पुनः बेलायतमा हुन गइरहेको छ भने अरू देशहरूमा पनि कार्यक्रमको तयारी भइरहेको छ। बेलायतमा हुने कार्यक्रममा प्रसिद्ध गायिक आनीछोइङ डोल्मा सहभागी हुँदै छिन्।

विगत १० वर्षदेखि नेपालको सडकपेटी एवं सार्वजनिकस्थलहरूमा विभिन्न कारणबाट कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुनः मिलन एवं परिवार पत्ता नलागेकाहरूको सहारा बन्दै आएको छ।

नेपालभर सात प्रदेशको १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालन भई आजको दिनमा एक हजार सात सयभन्दा बढी असहायले प्रत्यक्ष नाना, खाना, छाना,स्वास्थ्य र शिक्षाको सेवा प्राप्त गरिरहेका छन्।  

प्रकाशित: २५ चैत्र २०८० १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App