coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

‘चिस्याउने उपकरण परिमार्जन गर्दा हरितगृह ग्यास उत्सर्जन ६० प्रतिशत घट्छ’

चिसो पार्न प्रयोग गरिने उपकरणले खपत गर्ने ऊर्जा घटाउन सकिए मात्र सन् २०५० सम्म यो क्षेत्रले गर्ने हरितगृह ग्यास उत्सर्जनलाई ६० प्रतिशत घटाउन सकिने अध्ययनले देखाएको छ। चिस्याउन प्रयोग गरिने प्रविधिका कारण हरितगृह ग्यास उत्सर्जन अत्यधिक भइरहेकाले यसमा सुधार आवश्यक भएको दुबईमा सार्वजनिक ‘द ग्लोबल कुलिङ वाच रिपोर्ट’मा उल्लेख छ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम

(युएनइपी) ले नेतृत्व गरेको सञ्जालले गरेको अध्ययनमा चिस्यान व्यवस्थापनलाई दिगो पार्न उच्च ऊर्जा दक्षताको मापदण्ड कायम गर्नुपर्ने, प्यासिभ कुलिङ, तापमान बढाउन जिम्मेवार मानिने रेफ्रिजेरेटरलाई विस्थापन गर्नुपर्ने सुझाव दिइएको छ। हरितगृह ग्यास उत्सर्जन कटौती गरेर पनि चिसोको मागलाई कसरी पूरा गर्ने भन्नेमा प्रतिवेदन केन्द्रित छ।

प्रतिवेदनमा सुझाइएका उपायलाई अवलम्बन गर्नसके अन्तिम बिन्दुका उपभोक्ताले बर्सेनि १ खर्ब अमेरिकी डलर र ऊर्जा क्षेत्रको पाँच खर्ब अमेरिकी डलर बचत हुने उल्लेख छ। ‘विश्वको तापमान बढ्दै जाँदा हामीले ऊर्जाको दक्षतामा सुधार र चिस्याउने क्षेत्रले गर्ने उत्सर्जनलाई दिगो हिसाबले घटाउन आवश्यक छ,’ कोप– २८ का अध्यक्ष डा. सुल्तान अल जाबेरले भने।

प्रतिवेदन सार्वजनिक गर्ने क्रममा युएनइपीका कार्यकारी निर्देशक इन्गेर एन्डर्सनले यसमा समस्या समाधानका उपायहरू सुझाइएको बताए। ‘पृथ्वीको सरदर तापक्रम बढ्दै जाँदा हामीले ऊर्जा दक्षतामा सुधार गर्नुपर्छ, सँगसँगै दिगो हिसाबले चिसो पार्ने उपकरणमा रहेको अपर्याप्त पहुँचलाई पनि सम्बोधन गर्नुपर्छ,’ एन्डर्सनले भने।

एन्डर्सनका अनुसार विश्व समुदायले न्यून कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न तत्काल ठोस काम गर्नुपर्छ। विश्वमा तीव्र हिसाबले भइरहेको सहरीकरण तथा जनसंख्या वृद्धिले चिसो पार्न प्रयोग गरिने उपकरणहरूको माग ह्वात्तै बढेको छ। तर एसिया र अफ्रिकाको एक अर्ब २० करोड जनसंख्यासँग अझै पनि चिसो पार्ने उपकरणहरूमा पहुँच नहुँदा उनीहरूको जीवन जोखिममा छ भने किसानको आय घटेको छ।

यसैगरी खाना सुरक्षित राख्न नसक्दा नष्ट हुने तथा चिसोमा राख्नुपर्ने खोपहरूको पहुँचमा पनि समस्या सिर्जना हुने गरेको छ। विद्यमान वृद्धिदरको प्रवृत्ति हेर्दा विश्वमा हुने कुल विद्युत् खपतमा चिसो पार्ने उपकरणको हिस्सा २० प्रतिशत छ। विभिन्न आकलनले यो हिस्सा सन् २०५० सम्म दुई गुणाले बढ्ने देखाएका छन्।

ऊर्जा खपतका कारण हुने हरितगृह ग्यास उत्सर्जन बढ्दा र रेफ्रिजेरेटरबाट हुने उत्सर्जनले  कार्बनडाइ अक्साइडले भन्दा बढी वायुमण्डल तताउने मानिएको छ। अहिलेकै प्रवृत्ति कायम रहेमा चिस्याउने क्षेत्रले सन् २०५० सम्म कुल उत्सर्जनको १० प्रतिशत हिस्सा लिने तर्क वैज्ञानिकको छ।

कमसल खालका एयर कन्डिसन तथा रेफ्रिजेरेटरको माग बढ्दा यसले विद्युत् उत्पादनमा धेरै खर्च लाग्ने र प्रसारण लाइन विस्तारमा पनि उत्तिकै खर्च हुने मानिन्छ। कमसल खालका उपकरणले एसिया तथा अफ्रिकाका उपभोक्ताको विद्युत्को बिल अत्यधिक आउने गरेको विज्ञहरू बताउँछन्।

‘द कुल कोलिसन’ नाम गरेको अन्तर्राष्ट्रिय सञ्जालसँग विश्वका २३ देशसहित १३० विभिन्न निकाय र संस्थारू सहभागी छन्। द कुल कोलिसन र कोप– २८ को आयोजक संयुक्त अरब इमिरेट्सले संयुक्त रूपमा ल्याएको विश्वव्यापी चिस्यान प्रतिबद्धता (ग्लोबल कुलिङ प्लेज) लाई विश्वका ६० राष्ट्रले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २२ मंसिर २०८० ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App