१६ चैत्र २०८० शुक्रबार
प्रवास

भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

पर्वत – भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षीय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । 

उनीहरू भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा गोली लागेर मृत्यु भएको हो । 

शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती भएका थिए। दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । उनी राइफलम्यान पदमा कार्यरत थिए। गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ । 

यसैगरी कास्कीको नगिधर गाउँका गिरिस गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए । उनी हबल्दार पदमा कार्यरत थिए । उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन् । 

त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । उनको पत्नी कल्पना पुन र दुई सन्तान छन् । तीनैजनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ । रासस 

प्रकाशित: ११ जेष्ठ २०७४ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App