२३ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

नेपाल – बेलायत मैत्री सन्धीको १ सय वर्ष पूरा

नेपाल – बेलायतबीच मैत्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको छ। साेहि अवसरमा लण्डनमा एक विशेष कार्यक्रम गरिएकाे छ।

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा गत बुधबार नेपाली राजदूतावास र लण्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सो सन्धीको बारेमा चर्चा गरे।

कार्यक्रममा  बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वबारेमा जानकारी दिए।

उनले नेपाल बेलायत सम्बन्ध आधुनिक युगमा प्रवेश गरेको एवं दुवै देशले राजदूत आदानप्रदान गर्न शुरुवातसमेत गरेको उल्लेख  गर्दै   नेपाल र बेलायतबीचको सम्बन्धका बिभिन्न आयामहरुका बारेमा प्रकाश पारे। उनले परिवर्तित समयमा नेपाल बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा लण्डन स्कूल अफ इकोनोमिक्सको दक्षिण एशिया केन्द्रका निर्देशक प्राध्यापक अलनुर भिमानीले केन्द्रका गतिविधि एवं नेपालसँग सम्भावित सहकार्यका विषयमा आफ्नो धारणा राखेका थिए।

लिड्स विश्वविद्यालयका प्राध्यापक सुर्यप्रसाद सुवेदीले सन १९२३ मा नेपाल र बेलायतबीच भएको सन्धिको महत्वमाथि प्रकाश पार्दै त्यसअघि विभिन्न समयमा सन्धि सम्झौताहरु भएका भएतापनि नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा थप सुदृढीकरण गर्न सहयोग पुगेको बताए।

उक्त सन्धि लिग अफ नेशन्समा समेत दर्ता भएको र यसबाट नेपालको अन्य मुलुकहरुसँग सम्बन्ध बिस्तार गर्न सहयोग पुगेको समेत  उनको भनाइ थियो।

कार्यक्रममा नर्थअम्ब्रिया विश्वविद्यालयकी डा केटी ओभनले नेपाल र बेलायतबीच भैरहेका विपद व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी विभिन्न आयोजनाबारे चर्चा गर्दै प्राकृतिक प्रकोपका समयमा बेलायतले गरेको सहयोग र अनुसन्धानका बारेमा चर्चा गरिन्।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नरले नेपालमा विगतदेखि हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका विषयमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा उपस्थित प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरु, नेपाली समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु तथा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच अन्तरक्रिया भएको लण्डनस्थित नेपाली दुतावासले जनाएको छ।  

प्रकाशित: १ असार २०८० ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App