८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाललाई जापान जस्तै बनाउने सपना छः डा.भट्टराई

टोकियो— नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले  न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले नेपालको विकास हुन नसक्ने बताएका छन्।

कुनैबेला मार्क्सवाद, लेनिनवाद र माओवादका नाउँमा रक्तपातपूर्ण युद्ध नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले जापान आएर सत्यको पक्षमा अभिव्यक्ति दिएका हुन्।

'म जापानबासी नेपालीलाई बहकाएर भोट माग्न आएको होइन। जापानको विकासको मोडेलबारे जानकारी लिन आएको हुँ', उनले भने।

नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तरार्ष्ट्रिय नेपाली समाज जापान(आइएनएस जापान) ले आइतबार टोकियोमा आयोजना गरेको 'नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरूको भूमिका तथा आवश्यकता' विषयक बृहत् खुला अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन्।

उनले जापानबासी नेपालीलाई बहकाएर भोट माग्न आफू जापान नआएको दाबी गरे। 'म जापानबासी नेपालीलाई बहकाएर भोट माग्न आएको होइन। जापानको विकासको मोडेलबारे जानकारी लिन आएको हुँ', उनले भने।

जापान र कोरीया विश्वकै उत्कृष्ट विकास मोडेल भएका राष्ट्र भएको र नेपाललाई पनि त्यस्तै बनाउने सपना रहेको बताए। कार्यक्रममा स्थिर सरकार बिना मुलूकको विकास हुन नसक्ने भन्दै भट्टराईले प्रत्यक्ष निर्बाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने उल्लेख गरे।

मुलुकको कार्यकारी पदमा पुगिसकेकाले पदको लोभ नभएको भन्दै आर्थिक विकास नै आफ्नो प्रमुख एजेण्डा भएको उनले बताए।

कार्यक्रममा जापानमा रहेका बिभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, नयाँशक्तिका कार्यकर्ताको उपस्थिति थियो। शनिबार जापान आइपुगेका भट्टराईले नेपाल पत्रकार महासंघ जापानले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सहभागिता जनाएका थिए।

शनिबार नै एनआरएनए जापानका पदाधीकारी र ब्यवसायीसँग उनले छलफल गरे। आइतबार नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि उनको सहभागिता रहेको थियो।

विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको उपस्थिति रहेको कार्यक्रममा भट्टराईले जापानबासी नेपालीका विभिन्न पेशागत अनुभवलाई निकै चाख मानेर सुनेका थिए।

प्रकाशित: ३ आश्विन २०७३ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App