नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८ शङ्कास्पद कारोबारको जानकारी राष्ट्र बैङ्कले पाएको छ ।
नेपालमा भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) को कारोबार अवैध मानिन्छ । बिटकोइन, इथेरियमजस्ता क्रिप्टो, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेट भर्चुअल सम्पत्तिभित्र पर्छन्, जसलाई व्यापार, स्थानान्तरण, भुक्तानी तथा लगानीका लागि प्रयोग गरिन्छ । प्रतिवेदनअनुसार २०२१ जनवरीदेखि २०२५ जुलाईसम्म ६५८ शङ्कास्पद कारोबार र गतिविधिको जानकारी राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाइले पाएको छ । सन् २०२१ मा १३, २०२२ मा १७३, २०२३ मा १३८ र २०२४ मा २५२ वटा यस्ता कारोबार तथा गतिविधिको जानकारी आएको छ ।
त्यसैगरी, २०२५ को जुलाई १६ सम्म ८२ कारोबार तथा गतिविधिको जानकारी प्राप्त भएको छ । हालसम्म प्राप्त शङ्कास्पद कारोबार ‘रिपोर्ट’ अनुसार सबैभन्दा धेरै ९१ प्रतिशतभन्दा बढी अर्थात् ६ सयवटा वाणिज्य बैङ्कसँग सम्बन्धित छन् । त्यस्तै, ४८ विकास बैङ्क, ६ वटा रेमिट्यान्स कम्पनी, दुई वित्त कम्पनी, एउटा भुक्तानी प्रणाली सञ्चालक र एउटा स्टक ब्रोकरसँग सम्बन्धित रहेका छन् । यसरी प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधिलाई राष्ट्र बैङ्कले विभिन्न निकायमा पठाउँदै आएको छ ।
प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा राष्ट्र बैङ्कले २३२ वटा नेपाल प्रहरीलाई, ११५ वटा राजस्व अनुसन्धान विभागलाई, ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई, तीनवटा राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी सेवा विभागलाई र एउटा आन्तरिक राजस्व विभागलाई पठाएको छ । राष्ट्र बैङ्कका निर्देशक तथा वित्तीय जानकारी एकाइका प्रमुख वासुदेव भट्टराईले शङ्कास्पद कारोबारसम्बन्धी जानकारी विभिन्न अनुसन्धान निकायलाई उपलब्ध गराइएको र ती निकायबाट थप अनुसन्धान अघि बढ्ने बताएका छन् ।
“जानकारीमा आएका शङ्कास्पद भर्चुअल सम्पत्तिको कारोबारसँग सम्बन्धित विवरण विभिन्न निकायलाई उपलब्ध गराइएको छ । थप अनुसन्धान गर्ने, अदालतमा मुद्दा अभियोजन गर्ने र त्यहाँ पुष्टि भएपछि मात्रै यस्तो कारोबार भए–नभएको यकिन हुन्छ,” उनले भने ।
भर्चुअल सम्पत्तिको शङ्कास्पद कारोबार गर्ने व्यक्तिको उमेर समूह हेर्दा ३५ प्रतिशत २६ देखि ३० वर्षका, २० प्रतिशत २१ देखि २५ वर्षसम्मका, २० प्रतिशत ३१ देखि ३५ वर्षका, १२ प्रतिशत ३६ देखि ४० वर्षका, १० प्रतिशत ४१ वर्षभन्दा माथिका र तीन प्रतिशत १६ देखि २० वर्ष उमेर समूहका रहेका छन् । यस्ता शङ्कास्पद कारोबारमा सबैभन्दा धेरै २९ प्रतिशत विद्यार्थी रहेको पाइएको छ । त्यस्तै, २१ प्रतिशत जागिरे, १९ प्रतिशत विभिन्न व्यवसायका मालिक, पाँच प्रतिशत कृषि, दुई प्रतिशत इञ्जिनियर, नौ प्रतिशत वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा चार प्रतिशत स्वरोजगार रहेका छन् ।
चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी समान एक–एक प्रतिशत छन् । २६ प्रतिशत व्यक्तिको बैङ्क खाता बाइनान्स, क्रिप्टो, बिटक्वाइन, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता भर्चुअल सम्पत्तिको खरिद–बिक्रीमा जोडिएको उनीहरूकै बैङ्क स्टेटमेन्टबाट देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, १६ प्रतिशत व्यक्ति भर्चुअल सम्पत्तिको कारोबारमा संलग्न रहेको भन्ने जानकारी विभिन्न अनौपचारिक स्रोत र इमेलबाट प्राप्त भएको, दुई प्रतिशतले क्रिप्टो व्यापारका लागि अर्को व्यक्तिको बैङ्क खाता प्रयोग गर्ने (मनी म्युल) का कारण शङ्कामा परेको राष्ट्र बैङ्कले जनाएको छ ।
यसैगरी, पाँच प्रतिशतले क्रिप्टो, बिटक्वाइन तथा स्केल टोकन खरिदका लागि डलर कार्ड प्रयोग गर्ने गरेको, दुई प्रतिशत ग्याम्बलिङ र क्रिप्टोमा संलग्न रहेको, दुई प्रतिशत क्रिप्टो र हुन्डीमा संलग्न रहेको तथा चार प्रतिशतमा क्रिप्टो फ्रड अर्थात् अरू व्यक्तिलाई त्यस्तो कारोबारका लागि प्रेरित गरेको उल्लेख छ । बयालिस प्रतिशत भने उनीहरूको कारोबारको अवस्था हेरेर शङ्कामा परेका हुन् । उनीहरूको बैङ्क खातामा पटक–पटक रकम जम्मा गर्ने र झिक्ने गतिविधि देखिएकाले शङ्कास्पद कारोबारका रूपमा चित्रित गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित: १८ पुस २०८२ १६:१३ शुक्रबार





