नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले चुनावको संघारमा पार्टीका आन्तरिक विवादलाई थाती राखेर एकजुट हुनुपर्ने बताएका छन्।
दमक नगरपालिका वडा नं ६ को विस्तारित बैठकलाई आज सम्बोधन गर्दै भण्डारीले सो कुरा बताएका हुन्। फागुन २१ गते हुने निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति खर्चिनु पर्ने बताउदै भण्डारीले देश जलाउनेका विरुद्ध देश बनाउनेको प्रतिष्पर्धा एमालेले जित्नुपर्ने बताए। उनले झापा ५ ले यसअघिका निर्वाचनमा रचेको इतिहासलाई यस पटक पनि निरन्तरता दिनुपर्ने बताए। भदौ २३, २४ जनजी आन्दोलनपछि देश रहने कि नरहने भन्ने अन्यौल सृजना भएकोले त्यसका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मत दिएर जिताउन सम्पूर्ण कार्यकर्ता परिचालन हुनुपर्ने उनको भनाइ छ।
बैठकले आगामी ११ गते दमकमा हुने नेसनल भोलेन्टियर्स फोर्सको प्रदेश स्तरीय कार्यक्रममा कम्तीमा १ हजार जना सहभागी गराउने निर्णय गरेको निर्वाचन परिचालन कमिटीका संयोजक डा.बुद्धिशेखर भट्टराईले जानकारी दिए।
बैठकले निर्वाचनका दिन विभिन्न बुथ स्तरीय जिम्मेवारी विभिन्न नेताहरुलाई दिने निर्णय समेत गरेको छ।
प्रकाशित: २ फाल्गुन २०८२ २१:४९ शनिबार




