१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

ललितपुरमा एकीकृत श्वासप्रश्वास सेवाका लागि ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालन

ललितपुर महानगरपालिका-१३ मा एकीकृत श्वासप्रश्वास सेवा प्रदान गर्ने उद्देश्यले ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालनमा आएको छ।

शनिबार एक विशेष समारोहका बीच वडा अध्यक्ष गणेश केसीले उक्त सेन्टरको औपचारिक उद्घाटन गरेका हुन्।

उपत्यकामा बर्सेनि बढ्दो वायु प्रदूषण र श्वासप्रश्वासका बिरामीहरूको संख्यालाई मध्यनजर गर्दै यस सेन्टरको स्थापना गरिएको सञ्चालकले जनाएका छन्।

सेन्टरमा दम (सीओपीडी), निमोनिया, क्षयरोग, कोभिडपछिका फोक्सोको समस्या, छातीको जटिल समस्या, एलर्जी, र फोक्सोको कार्यक्षमता परीक्षण लगायतका सेवाहरू उपलब्ध हुनेछन्।

साथै, यहाँ धूमपान त्यागका लागि परामर्श र अत्याधुनिक स्तरको प्रयोगशालाको सुविधा समेत रहेको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष केसीले वडास्तरमै यस्तो विशेषज्ञ स्वास्थ्य सेवा सुरु हुनु नागरिकका लागि सुखद पक्ष भएको बताए।

‘स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध हुनु सराहनीय कार्य हो,’ उनले भने, ‘सेन्टरबाट सेवा प्रवाह मात्र नभई वडावासीको स्वास्थ्य सुधारका लागि वडा कार्यालयले पनि आवश्यक सहकार्य गर्नेछ।’

कार्यक्रममा छातीरोग विशेषज्ञ डा. राजु पंगेनीले उपत्यकामा बढ्दो प्रदूषणका कारण श्वासप्रश्वासका बिरामीहरूको संख्या चिन्ताजनक ढंगले बढिरहेको बताए।

उनले भने, ‘बिरामीहरूलाई स्थानीय स्तरमै एकीकृत र विशेषज्ञ सेवा प्रदान गर्न यस्तो सेन्टरको ठूलो औचित्य छ। एकीकृत सेवाले उपचारलाई थप प्रभावकारी र सहज बनाउनेछ।’

सेन्टरका सञ्चालक मधुसुदन घिमिरेले केन्द्रले उपचारका साथै रोगबाट बच्न र दीर्घ जीवन प्राप्त गर्न आवश्यक जनचेतनाका क्षेत्रमा पनि काम गर्ने जानकारी दिए।

नेपालमा मुटु रोग र पक्षघात पछि मृत्युको प्रमुख कारण फोक्सो सम्बन्धी रोग रहेको उल्लेख गर्दै उनले सरकारको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिए।

‘मिर्गौला र मुटु रोगका बिरामीलाई सरकारले विभिन्न सहुलियत र सहयोग गर्छ, तर फोक्सोका बिरामीका लागि अझै पर्याप्त सहयोग पुग्न सकेको छैन,’ घिमिरेले बताए।

प्रकाशित: २ फाल्गुन २०८२ २१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App