१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

भूकम्पले ढलेको विद्यालय उठाउन प्रवासमा अभियान

नुनथला–८ गैरीस्थित नवज्योती प्राबिको भवन

खोटाङ– खोटाङको नुनथला–८ का युवाले भूकम्पले ढलेको विद्यालय उठाउन प्रवासमा अभियान चलाएका छन्। रोजगारीका सिलसिलामा खाडी मुलुकमा पुगेका युवाले भूकम्पले ढलेको नुनथला–८ गैरीस्थित नवज्योती प्राविको भौतिक तथा शैक्षिक विकासका लागि अभियान चलाएका हुन्। ‘आफ्नो गाँउ आफै बनाऔं, नवज्योती प्राविलाई सहयोग गरौँ’ भन्ने नारासहित नुनथलाका युवाले कतार, साउदी, दुबई, बहराईन र मलेसियामा अभियान चलाएका छन्।

२०७२ साल वैशाख–१२ गतेको भूकम्पले ढलेको बिद्यालयको उन्नतीका लागि कतारमा रबिन शेर्पा, साउदीमा रोमन शेर्पा, दुबईमा जीवन शेर्पा र मलेसियामा कर्साङ शेर्पाको पहलमा अभियान सञ्चालन भइरहेको छ। मुस्लिम समुदायको बकर ईद पर्वको दिन विद्यालयलाई रकम हस्तान्तरण गर्ने लक्ष्यका साथ स्वेच्छिक सहयोग संकलन अभियान चलाइएको हो। असारको तेसो हप्तादेखि सुरु गरिएको अभियानबाट हालसम्म ३० हजारभन्दा बढी रकम जम्मा भइरहेको कतारमा रहेका अभियान्ता रविन शेर्पाले बताए।

विभिन्न देशमा रहेपनि नुनथलाबासीबीचमा अनलाइनबाटै छलफल गरेर ‘आफ्नै बालबच्चा पढिरहेको विद्यालय बनाउन अरुको आश नगरौँँ’ भन्ने निष्कर्षका साथ बिद्यालयका लागि स्रोत जुटाउन थालिएको हो। मलेसियामा संकलन भएको रकम आगामी भदौ–२७ गते विद्यालयलाई प्रदान गरिने कर्साङ शेर्पाले बताए। २०६५ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा ३ सम्मको पठनपाठन भइरहेको छ । विद्यालयमा हाल तीन जना शिक्षक कार्यरत छन् । प्रवासबाट प्राप्त हुने रकमले विद्यालयको भौतिक विकास र अंग्रेजी विषयको एक जना शिक्षक नियुक्ती गरिने व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताए। ‘विदेशमा रहेका भाईहरु गाउँको उन्नतीकालागि जुटेको देख्दा गर्व लाग्छ,’ अध्यक्ष तामाङले भने, ‘उहाँहरुको अभियानले विद्यालय सञ्चालनमा थप उर्जा मिलेको छ ।’

यसअघि नवज्योती प्राविको भवन पुनर्मर्मतका लागि नुनथलाकै युवाको पहलमा मलेसियाबाट ४६ हजार १२४ रुपैयाँ र कतारबाट ५४ हजार प्राप्त भएको थियो। ‘फेसबुक ग्रुप च्याटिङ’ मार्फत मलेसिया र कतारबाट सो रकम जुटाइएको हो।

 

 

प्रकाशित: १५ श्रावण २०७३ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App