जेनेरेसन जेड आन्दोलनले नेपालको राजनीतिक भूगोलमा नयाँ इतिहास रच्यो । भ्रष्टाचार, अकर्मण्यता र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध उठेको यो आवाजले सम्पूर्ण राजनीतिक व्यवस्थालाई झकझोर्यो र अन्ततः नयाँ सरकारको गठन हुन पुग्यो ।
जसले छ महिनाभित्र संसदीय निर्वाचन गर्ने जनादेश पायो । तर, यो आन्दोलन केवल सत्ता परिवर्तनमाझ सीमित रहेन । यसले गर्दा देशको सामाजिक–राजनीतिक परिदृश्यमा एक स्पष्ट र नयाँ माग उठ्यो, निर्णय प्रक्रियादेखि कार्यान्वयनसम्म, हरेक क्षेत्रमा युवाको सार्थक र प्रभावकारी सहभागिता ।
अब कोठाको पछाडि बसेर नीतिहरू बनाउने र युवालाई ’भविष्यको नेता’ भनेर टाढा राख्ने समय सकियो । अबको आवश्यकता, युवालाई मुख्यधारामा ल्याउने र देशको विकासको यात्रामा उनीहरूको ऊर्जा, शीप र दूरदृष्टिलाई राष्ट्रनिर्माणको मुख्य आधार बनाउने ।
जेनेरेसन जेड आन्दोलन केवल भ्रष्टाचार विरुद्धको आवाज मात्र होइन, यो एक सशक्तिकरणको आन्दोलन हो । दशकौंदेखि चलिआएको पुरानो राजनीतिक ढाँचाले युवाहरूलाई केवल युवा संगठनको सीमित दायरामा राखेर तिनै पुराना विचारधारा र कार्यशैली थोपराउने प्रयास गर्दथ्यो ।
यसले युवाको सिर्जनशीलता र नवीनतालाई दबाउने काम गर्यो । तर, प्रविधीको युगले युवाहरूलाई सूचना, संगठन र अभिव्यक्तिको अभूतपूर्व सशक्तीकरण प्रदान गर्यो ।
उनीहरूले विश्वलाई नेपाली युवाको शक्ति र दृढताको परिचय दिए । अब यो शक्तिलाई देशभित्रै राष्ट्रनिर्माणको मुख्यधारामा परिणत गर्नु जरुरी छ । युवाहरूको लगानीबिनाको कुनै पनि विकास योजना अधूरो रहेछ ।
उनीहरू नै हुन् जो विश्वग्राममा जन्मिएका छन्, डिजिटल प्रविधिमा दक्ष छन्, र नयाँ विचार र समाधानका साथ आउन सक्छन् । यिनै कारणले गर्दा युवालाई “भविष्यको नेता” भन्नुभन्दा “वर्तमानका सहभागी” को रूपमा स्वीकार गर्नु पर्छ ।
युवा सहभागिताको अवधारणालाई मात्रै हैन, यसको गुणस्तरमाथि पनि ध्यान दिनु आवश्यक छ । केवल संख्याको हिसाबले युवालाई कुनै समिति वा संस्थामा राखिदिनु सहभागिता होइन । सार्थक सहभागिता भनेको नीति निर्माण, बजेट निर्धारण, योजना कार्यान्वयन र मूल्याङ्कन जस्ता महत्त्वपूर्ण प्रक्रियाहरूमा युवाको सक्रिय, प्रभावकारी र निर्णायक भूमिका हो ।
हालसम्मको अभ्यास यस्तो रहेको छ कि युवाहरूलाई सजावटी सदस्यको रूपमा राखिन्छ, तर उनीहरूको आवाजलाई वास्तविक रूपमा सुनीन्न वा गम्भीरतापूर्वक लिइन्न । यसले गर्दा युवामा हताशा बढेको छ र राजनीतिक प्रक्रियाप्रतिको अविश्वास जन्मेको छ ।
त्यसैले, अबको आवश्यकता टुक्राटाक्री रूपमा होइन, व्यापक युवाहरूलाई सम्पूर्ण प्रणालीको केन्द्रमा राखेर हेर्नु हो । स्थानीय सरकारहरूले युवा सभा गठन गरेका छन्, तर ती सभाहरूको सिफारिसहरूलाई कति गम्भीरतापूर्वक लिइएको छ ? संसद् र मन्त्रालयहरूमा युवा प्रतिनिधित्वको अवस्था कस्तो छ ? यो समय यिनै प्रश्नहरूको उत्तर खोज्ने र युवालाई वास्तविक अधिकार र जिम्मेवारी दिने हो ।
राजनीतिक दलहरूको भूमिका यस सम्बन्धमा सर्वाधिक महत्त्वपूर्ण छ । आगामी निर्वाचन युवालाई राजनीतिक प्रक्रियासँग जोड्ने ऐतिहासिक अवसर हो । तर, के राजनीतिक दलहरू यसको लागि तयार छन् ? के उनीहरूले युवा उम्मेदवारहरूलाई टिकट वितरण गर्दा केवल पारिवारिक वा दलगत सम्बन्धलाई मात्र प्राथमिकता दिँदैछन्, वा योग्यता, शीप र नयाँ सोचलाई पनि ? यदि दलहरूले युवालाई निर्वाचनमा उम्मेदवार बनाउने र पार्टीभित्रका नेतृत्व पदहरू दिने मामिलामा उदार र गम्भीर छैनन् भने, जेनेरेसन जेड आन्दोलनले देखाएको ऊर्जा अपूर्ण रहनेछ ।
दलहरूले युवाहरूलाई ’क्याडर’ को रूपमा हेर्नबाट मुक्त हुनुपर्छ र उनीहरूलाई समान सहभागीको रूपमा स्वीकार गर्नुपर्छ । उमेरको हिसाबले युवा भए पनि उनीहरूसँग देशलाई नयाँ दिशा दिन सक्ने दूरदृष्टि, ईमान्दरिता, योग्यता र क्षमता छ । राजनीतिक दलहरूले आफ्नो संरचनामा नै क्रान्तिकारी परिवर्तन गर्नुपर्छ र युवा सदस्यहरूलाई नीति निर्माणदेखि चुनावी रणनीतिसम्म हरेक तहमा सहभागी बनाउनुपर्छ ।
युवा नेतृत्व र सहभागिताको लागि केवल राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक र सामाजिक क्षेत्रमा पनि एउटा ठूलो अभियान चाहिन्छ । युवाहरूले आफ्नो भविष्य र देशको भविष्यबीच सीधा सम्बन्ध देख्छन् । उनीहरूको शिक्षाले रोजगारी दिएर जीवन स्तरमा सुधार ल्याओस् भन्ने युवाहरु चाहन्छन्, उनीहरूको नवप्रवर्तनले देशमा नयाँ उद्यमहरू स्थापना होओस्, र उनीहरूको नागरिक सचेतनाले समाजमा पारदर्शिता र जवाफदेहिता कायम होओस् ।
त्यसैले, युवा सहभागिताको अभियानलाई रोजगारी, उद्यमिता, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि, पर्यटन लगायतका सबै क्षेत्रहरूमा फैलाउनुपर्छ । निजी क्षेत्रले पनि युवाहरूलाई नीति निर्धारण स्तरमा समेट्नु पर्छ र उनीहरूको नवीनतालाई प्रोत्साहन गर्नुपर्छ । युवा उद्यमीहरूलाई सहज ऋण, मार्गदर्शन र बजार पहुँच उपलब्ध गराउनु यसको एउटा महत्त्वपूर्ण पक्ष समेत हो ।
युवा सहभागिताको मागलाई कार्यान्वयनको तहमा लैजान अब एक राष्ट्रव्यापी संवाद र अभियानको आवश्यकता छ । यो संवाद संसदमा, सडकमा, क्याम्पसमा, सामाजिक सञ्जालमा र सञ्जालमा समानान्तर रूपमा चल्नुपर्छ । युवा नेतृत्वलाई बढावा दिने नीतिहरू बनाउनुपर्छ, जस्तै– स्थानीय तहमा युवा सभाको सिफारिसलाई बाध्यतामूलक बनाउने, संसदमा युवा प्रतिनिधित्व बढाउने कोटा तोक्ने, राजनीतिक दलहरूले निश्चित प्रतिशतमा युवा उम्मेदवार खडा गर्न बाध्य तुल्याउने, र सार्वजनिक संस्थानहरूको निर्देशन समितिमा युवा सदस्यता अनिवार्य गर्ने ।
यस्ता ठोस कदमहरूबाट मात्र युवाको आवाजलाई संस्थागत रूप दिन सकिन्छ । साथै, युवाहरूले आफैंले पनि आवाज उठाउनु पर्छ र आफ्नो अधिकारप्रति सजग रहनु पर्छ । उनीहरूले राजनीतिक दलहरूलाई प्रश्न गर्नुपर्छ, आफ्नो मागहरू स्पष्ट रूपमा राख्नुपर्छ, र आफूहरू नै नेतृत्वमा उभिन अग्रसर हुनुपर्छ ।
जेनेरेसन जेड आन्दोलनले नेपाली राजनीतिमा युवाको शक्तिको एउटा झलक देखायो ।हामीले यसलाई एक स्थायी र परिवर्तनकारी शक्तिमा परिणत गर्नु, हाम्रो दायित्व हो । नेपालले आफ्नो जनसांख्यिकीय लाभांशको पूर्ण रूपमा उपयोग गर्न यो नै उपयुक्त समय हो । देशको विकासको गति बढाउन, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न, र नयाँ नेपालको सपनालाई साकार पार्न युवाहरुले नै केन्द्रीय भूमिका खेल्न सक्छन् ।
तर यसको लागि युवाहरूलाई मौका दिनुपर्छ, विश्वास गर्नुपर्छ र उनीहरूको क्षमतालाई सकारात्मक रूपमा उपयोग गर्नुपर्छ । आउनुहोस्, हामी सबै मिलेर यो संवाद सुरु गरौं र युवाहरूलाई दिइने स्थान र नेतृत्वको लागि एकजुट भई अभियान चलाऔं । किनकि युवा नै भविष्य मात्र होइनन्, युवा वर्तमान पनि हुन् र उनीहरूको हातमा देशलाई नयाँ मोड दिने शक्ति र क्षमता छ । एकजुट युवा शक्तिको बलमा नै हामी एउटा समृद्ध, शान्त र विकसित नेपालको निर्माण गर्न सक्छौं ।
लामिछाने युवा गैरसरकारी संस्था महासंघ नेपालका महासचिव हुन् ।
प्रकाशित: ६ मंसिर २०८२ १४:४० शनिबार





